जिल्ला सुरक्षा प्रमुखहरु पहिलो पटक राप्तीपारी गाउँमा, स्थानीयले मागे विकास


भगतराम थारु
नरैनापुर, कात्तिक ९ गते । बाँकेको नरैनापुरमा पहिलो पटक पुगेका जिल्लाका सुरक्षा प्रमुखहरुलाई स्थानीय बासिन्दाले विकास निर्माण बारे ध्यानाकर्षण गराएका छन् । सुरक्षासँगै विकासको काम हुनुपर्ने स्थानीयको माग थियो ।

बाँकेका सुरक्षा निकायका प्रमुखहरु राप्तीपारीका सुरक्षा निकायका कार्यालय अनुगमनका क्रममा राप्तीपारीका बासिन्दाहरुले सुरक्षा निकायका प्रमुखहरुलाई विकास निर्माण वारे ध्यानाकर्षण गरेका थिए ।

केही समयअघि जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी बल ३० नम्बर गण बाँके हेडक्वाटर महेन्द्रनगरका प्रहरी उपरिक्षक भेषबहादुर शाह, नेपाली सेना बाँकेका प्रमुख सेनानी सूर्यबहादुर थापा, लगायतका सुरक्षा अधिकारीहरु पहिलो पटक नरैनापुर गाउँपालिका पुगेका थिए ।

स्थानीय बासिन्दाले शान्ति सुरक्षा बाहेक हुलाकी सडकको निर्माण कार्य छिटो सम्पन्न हुनुपर्ने, विद्युत सुविधा हुनुपर्ने, तटबन्ध र कल्भर्ट निर्माण हुनुपर्ने लगायतका माग राखेका थिए । सुरक्षा प्रमुखलाई स्थानीयले समय समयमा गाउँमा आउन निम्तो समेत दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भुजेलले नरैनापुरमा हुलाकीसडक निर्माण कार्य सम्पन्न भएमा छिट्टै विकसित हुने अवस्था रहेको बताउनुभयो । त्यसैगरी ईलाका प्रशासन कार्यालय नरैनापुरमै राख्नुपर्ने स्थानीयको माग छ । सुरक्षा प्रमुखहरुको टोलीले सीमाक्षेत्रका प्रहरी चौकीको निरीक्षण समेत गरेका थिए ।

नरैनापुरमा सशस्त्र प्रहरीको बिओपीको स्थापना गरिएको छ । प्रदेश सांसद कृष्ण केसीले सशस्त्र प्रहरीको नयाँ ईकाईको उदघाटन गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी भुजेलले सडक निर्माण भएसँगै नरैनापुरमा भन्सार कार्यालयको स्थापना अत्यावश्यक देखिएको बताउनुभयो ।

पहिलो पटक जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बाँकेको विकट क्षेत्र मानिने राप्तीपारीको नरैनापुरसम्म पुगेका थिए । सुरक्षा निकायका पदाधिकारीहरुलाई प्रजिअ भुजेलले शान्ति सुरक्षामा कुनै किसिमको बाधा अडचन नआउन दिन निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया