अमृत चौधरीको दुवै किड्नी फेल भएपछि साहेवनीलाई तनाब


धनगढी, कात्तिक १४ गते । कैलारी गाउँपालिका ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै किड्नी फेल भएर परिवारका सदस्यलाई समस्या परेको छ । श्रीमानको उपचारका लागि आर्थिक जोहो नभएपछि श्रीमती साहेवनी चौधरीलाई तनाव भएको छ ।

पारिवारिक अवस्था दयनीय भएपछि चौधरीको उपचारमा समस्या भएको हो । विगत डेढ बर्षदेखि स्वास्थ्यमा समस्या आएको चौधरीको उपचारमा मात्रै १० लाख रुपियाँ बढी खर्च भएको परिवारले जनाएको छ ।

उहाँको श्रीमति साहेवनी चौधरी आफ्नो श्रीमानको उपचार खर्चमा १० लाखभन्दा बढी रुपियाँ खर्च भएको बताउनुभयो । श्रीमानको उपचारका लागि काठमाण्डौ, नेपालगञ्ज सहित भारतको सितारगंजमा समेत लगेर चेकजाँच गराइएको उहाँले बताउनुभयो ।

साहेवनीलाई अहिले परिवार पाल्न निकै समस्या भएको छ । साहेवनीलाई आफ्नो दुई छोरीको लालनपानल तथा शिक्षामा निकै समस्या भएको छ । कृषि बाहेक अन्य आर्थिक श्रोत नरहेको साहेवनी आफू धनगढीमा ज्याला मजदुरी गरी श्रीमानको उपचार खर्च व्यहोरेको बताउनुभयो । हप्तामा दुइ तीन चोटी श्रीमानको चेकअप तथा डाइलसिस् गर्नु पर्ने भएकोले आर्थिक समस्याले आफू हरेस खाएको उहाँले बताउनुभयो ।

भएको सबै सम्पत्ति श्रीमानको उपचारमा खर्च लगाएँ’, साहेवनीले भन्नुभयो, “अहिले त घरमा केही बाँकी रहेन, घरपनि भत्की सक्यो, मर्मत र नयाँ घर बनाउने पैसा छैन ।” उपचारका लागि कसैबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया