थारु दीपावलीः उहिले र अहिले

थारु संस्कृति

लक्की चौधरी

पर्वमध्ये उज्यालो पर्व हो दीपावली । दीपावलीलाई थारुले ‘देवारी’ भन्छन् । उज्यालोको अर्थ खुशीयाली र अमनचयन हो । दीपावलीमा दियोको चमकले घर आङ्गनमा जगमग्ग उज्यालो छाएजस्तै सबैको मुहारमा पनि उज्यालो छाएको हुन्छ । यस पर्वमा लक्ष्मी भगवानको पूजा अराधना गरिने हुनाले सबैको मन प्रसन्न हुनेगर्छ । लक्ष्मीलाई धन पैसा, सम्पत्तिसँग तुलना गरिन्छ । घरमा मनग्य धन छ, सम्पत्ति छ भने केही हदसम्म सबैको मनमा सन्तुष्टि हुन्छ । यस पर्वमा भगवान लक्ष्मीलाई सबैको घरमा स्वागत गरिन्छ । त्यसको अलावा आफन्तजनसँग संगै बसेर मीठो परिकार खाने प्रचलन पनि छ ।

दीपावली खासगरी काग तिहारबाट सुरु हुन्छ । काग तिहारलाई थारुमा ‘कौवा तिहुवार’ भनिन्छ । कागले एक ठाउँको खवर अर्को ठाउँमा प्रवाह गरी सन्देश बाहकको काम गर्ने हुनाले दीपावलीमा कागको पूजा गर्ने गरिन्छ । घरमा पाहुना आउने बारेको अग्रीम सन्देश कागले प्रवाह गर्नेगरेको मानिन्छ । घरको छानोमा बसेर, बगैचाको रुखमा बसेर काग बेसरी करायो भने घरमा कसैको आगमन हुनेवाला छ भन्ने अडकल काट्ने गरिन्छ । सन्देश बाहकको काम गरेकाले कागको पूजा तिहारमा गर्नेगरेको जनविश्वास छ । काग तिहारपछि कुकुर तिहार आउँछ । कुकरले घरको रेखदेख गर्ने, चोरी हुनबाट जोगाउने हुनाले बफादार घरपालुवा जनावरको रुपमा पूजिन्छ । घरको पहरा गर्ने, चौकीदारी या घरकुरुवाको काम कुकुरले गर्छ । त्यसैले वर्षको एकदिन भएपनि तिहारमा कुकुरको पूजा हुन्छ । सोपछि क्रमशः लक्ष्मीपूजा, गोवद्र्धनपूजा, भाइटीका लगाएर तिहार मनाउन आम प्रचलन छ । थारु समुदायले यी सबै औपचारिकता पूरा नगरे पनि खासगरी लक्ष्मीपूजा र भाइटीका मनाउँछन् ।

उहिलेको दीपावली
लक्ष्मीपूजाको दिनदेखि थारुले दीपावली शुरु गर्छन् । लक्ष्मीपूजाको दिन विहानैदेखि घर घरमा काँचो माटोको प्याला (दियो) बनाउँछन् । दिनभरी घाममा सुकेपछि साँझ सोही प्यालामा रुई र तेल राखेर बत्ती बालिन्छ । घर गोठमा साँझ गाई गोरु फर्केपछि घर आँगन सफा सुग्घर बनाएर दियो बाल्ने काम शुरुहुन्छ । थारुहरु घर लिपपोत गरेर दीपावली आउनुअघि नै सफा सुग्घर पार्छन् । घर आँगन सफा सुग्घर बनाएमा लक्ष्मी भगवानको बास हुने विश्वास गरिन्छ । सो दिन चारैतिर सफा सुग्घर पारिन्छ । दीयो बाल्ने ठाउँमा गोवर पानीले लिपपोत गरी सफा सुग्घर भएपछि लिपेको ठाउँमा माटाका दियो राखी साँझ बत्ती बालिन्छ ।

चारैतिर उज्यालो पारेपछि लक्ष्मी भगवान खुशी हुन्छिन् भन्ने मान्यता छ । सबैभन्दा पहिला देवता बस्ने कोठा (देहुरार) बाट दियो बाल्ने काम सुरु गरिन्छ । देवता कोठाबाट घरमुलीले दियो बाल्दैजाने र अर्को एकजना घरका सदस्यले सुप्पो (निगालो) मा डण्डा (लठ्ठी) ले ठटाउँछन् । सुप्पोलाई ढोल बजाएजस्तो गर्ने र मन्त्र जप्ने गर्छन् । ‘भाग दलिदरी ओत्ती जाऊ, लक्ष्मी घरमे आऊ’ अर्थात् (अलिच्छीनाहरु टाढा भाग, लक्ष्मी घरमा प्रवेश गर) मन्त्र जपिन्छ । सुप्पो ठटाउने मान्छेले नियमित सो मन्त्र जप्नुपर्छ । जबसम्म घरको सबै कोठा, द्वार, आँगन, घर वरिपरि दियो बालेर सकिदैन, तवसम्म सुप्पो ठटाउने र सोही मन्त्र जप्ने काम जारी रहन्छ । यसरी दियो बाल्दा घरका सबै ढोका, झ्यालहरु खुला राखिन्छ । घरको कुना कुनामा गएर सुप्पो ठटाउँदा दुःख विमार, बैरी सबै घरबाट बाहिर भाग्छन् भन्ने विश्वास थारुहरुको छ । थारुहरुको घरको पूर्वपट्टिको द्वारको अगाडि बाहिर आँगनमा देवता बस्ने सानो घर (मरुवा) बनाइएको हुन्छ । त्यो घरमा देवताहरुको बास हुन्छ । देवता घरको चारैतिर दियो बालिएको हुन्छ ।गाई गोठ, धारा पँधेरा, आँगन, कौसी सबैतिर दियो बालेर उज्यालो पारिन्छ । सुप्पो ठटाउनेले घरबाट अलच्छिना बैरीलाई धपाउँदै बाहिर सडकसम्म लखेट्छ । घरबाट बैरी दुश्मन, दुःख पीडालाई घरनिकाला गरेपछि वर्ष दिनसम्म घरका सदस्यलाई रोगव्याधी नलाग्ने, बैरी दुश्मनले नसताउने विश्वास गरिन्छ । घरका सदस्यहरु निरोगी भई सुख सयल र दुःखमुक्त हुन्छन् भन्ने अडकल गरिन्छ ।

थारुहरुमा दीपावली पर्व मनाउनेमा एकरुपता देखिदैन । पश्चिमका थारुले दीपावलीलाई जुनरुपमा मनाउने गर्छन्, चितवनपूर्वका थारुले सोही पर्वलाई अर्कै ढंगले मनाएको देखिन्छ । पूर्वका थारुले सुकरातकोरुपमा देवारी मनाउँछन् । देवारीमा थारुहरुले पृथक किसिमको परिकार बनाएर खानेगर्छन् । चामलको पीठोबाट बनाइएको ‘ढीक्रि’ थारुको प्रचलित परिकार हो । यो परिकार दीपावली, दशैं र माघीमा पनि बनाउने प्रचलन छ । ढीक्रिसँग माछा, गगंटाको तरकारी विशेषगरी रुचाइन्छ । त्यसको तयारी थारु सदस्यहरुले घर घरमा गरेका हुन्छन् । काँचो र सुकाएको माछाको फरक फरक परिकार बनाइएको हुन्छ । विहानदेखि स्थानीय नदी, तलाउ र खोलामा गएर माछा गंगटा मार्ने प्रचलन थारु समुदायमा छ ।

थारु घरका सदस्यले चाड पर्वमा सामुहिकरुपले घरमा पाकेको पाकवान खाने गर्छन् । घरका सदस्यले पाकवान खानुअघि देवतालाई ढीक्रि पूज्ने प्रचलन छ । देवतालाई पूजापाठ गरी चढाएर मात्र घरका सदस्यले खान पाउँछन् । देवताको पूजा गरिसकेपछि सोही कोठामा लहरै चटाईमा बसेर परिकार खाने गरिन्छ । यसरी सामुहिकरुपले परिकार खाँदा घरका सदस्यहरुको सुख, दुःखका बारेमा चर्चा गर्ने र खुशी साटासाट गर्ने प्रचलन छ । घरमुलीले हप्तादिन लगाएर तयार पारेको जाँड, रक्सीलाई ढीक्रिसँग प्रसादकोरुपमा खान दिने चलन छ । थारु समुदायका सदस्यहरु प्रायः संयुक्त परिवारमा बस्न रुचाउँछन् । सामुहिकरुपले घरखेतको काम गर्ने, मिलेर बस्ने हुनाले थारुको एउटै परिवारभित्र चालिस पचासजना सदस्यसम्म बस्ने गर्छन् । ठूलो परिवार संख्या भएकाले थारुको घरको आकार पनि उत्तर–दक्षिण लाम्चो परेको हुन्छ । एउटै घरमा दश बाह्रवटासम्म कोठाहरु बनाइएका हुन्छन् । घरका सदस्य बढी हुनेले दुई तीनवटा घर लहरै बनाएर सामुहिकरुपमा बस्ने गर्छन् । चाडपर्वमा घरका सदस्यले पनि खाने र आफन्त, गाउँका अन्य सदस्यहरुलाई पनि घरमा बोलाएर मीठो मसिनो खान दिने गरिन्छ । अरु पर्वमा विवाहित चेलीलाई घरमा बोलाएर मीठो पाकवान खुवाउने गरिए पनि दीपावलीमा विवाहित चेलीलाई खासै बोलाइने प्रचलन छैन ।

देवतालाई रक्सी !
थारु समुदायको घरका देवताले प्रायः रक्सी र शुद्ध जल ग्रहण गर्छन् । हरेक पर्वमा देवतालाई रक्सी, जल र गाईको दुध चढाउने प्रचलन छ । खेतबारीबाट उत्पादन हुने हरेक नयाँ परिकार घरको देवतालाई चढाएर मात्र घरका सदस्यले ग्रहण गर्छन् । अन्नबाट बनाइएका रक्सी समेत घरमुलीले घरका देवतालाई प्रसादकोरुपमा चखाउने गर्छन् । यो प्रचलन परापूर्वकालदेखि चलिआएकाले अहिले पनि त्यसले निरन्तरता पाइरहेको एक थारु गुरुवा जोखन चौधरी बताउनुहुन्छ ।

अहिलेको दीपावलीः
थारु गाउँघरमा दीपावली मनाउने प्रचलन अहिले फेरिदै गएको छ । उहिलेको दीपावली मनाउने प्रचलन परम्परागतरुपमा चलेको थियो । अहिलेको प्रचलन फेरिएर तडकभडक भएको छ । दियो बाल्ने प्रचलनमा एकरुपता त छ । तर उहिले घरमै माटोको दियो बनाएर बाल्ने गरिन्थ्यो । अहिले बजारबाट दियो, मैनबत्ती, झिलीमिली बत्ती किनेर ल्याएर बाल्ने गरिन्छ । उहिले घरघरमा सुप्पो ठटाएर घरबाट बैरी दुश्मनलाई लखेट्ने र लक्ष्मीको स्वागत गर्ने गरिन्थ्यो । अहिले सो प्रचलन विस्तारै हराउँदै गएको छ ।

उहिले केटाकेटीले सामान्यरुपमा देउँसी भैली खेलेर मनोरन्जन गर्थे । केही दक्षिणा संकलन गर्थे । अहिले ठूला युवाहरु, बुढापाकाहरुले समेत देउँसी भैली खेलेर रमाउने गर्छन् । भैली खेल्दा दक्षिणा पनि बढी माग्ने प्रचलन छ । हिजो घरका सदस्यले स्वइच्छाले दक्षिणा दिन्थे भने अहिले भैली खेल्नेले तोकेर रुपियाँ माग्ने गर्छन् । पर्वमा विकृति मौलाउँदै गएको छ । मनोरञ्जन कम, विकृति बढी देखिने गरेको छ । देउसी भैली खेल्ने प्रचलन उहिले मनोरञ्जनका लागि थियो, अहिले दक्षिणाका लागि खेलिन्छ । सामुहिकरुपमा केटाकेटी देउसी भैलीखेल्दा मनमुटाव हुने, केटीमाथि जवर्जस्ती गर्ने घटनासमेत बढ्दै गएको छ । रातीको समयमा देउँसी भैली खेल्ने हुनाले चेलीहरु बढी असुरक्षित हुने गरेका छन् ।
उसो त देउँसी भैली खेल्ने प्रचलन थारु समुदायको होइन । बाह्य संस्कृतिको देखासिकीले यस्तो प्रचलन चलनचल्तीमा आएको मानिन्छ । उहिले घरको आँगनमा मूलद्वार अगाडि रङ्गोली बनाउने प्रचलन थिएन । अहिले घर घरमा रङ्गोली बनाएर दियो बाल्ने प्रचलन बढ्दै गएको छ । हिजोको थारु दीपावली मनोरन्जनपूर्ण र कम खर्चिलो थियो । आजभोलि भड्किलो र मौलिकता कम तडकभडक बढी हुने गरेको छ ।

दीपावलीमा भाइटीका लगाउने प्रचलन थारुको होइन । अहिलेको भाइ वहिनीहरुले एकापसमा रंगीन टीका लगाएर भाइटीका मनाउन थालेका छन् । कुनै कुनै गाउँमा थारु समुदायको प्रचलन नभएको भन्दै त्यसको वहिष्कार अभियान चलाउने गरेका छन् । तर भाइटीका लगाउने प्रचलन हरेक थारु गाउँमा प्रवेश पाइसकेकाले अहिलेका भाइ बहिनीहरु टीका लगाएर दाजुभाइको दीर्घायुको कामना गर्ने गर्छन् । भाइटीकाले दाइभाइ र दिदीवहिनीबीच मेलमिलाप गर्ने, एकापसको सम्बन्ध सुमधुर बनाउने गरेको विश्वास गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया