कैलालीकी राधा चौधरी माथि पुनः कुटपिट, दोसीलाई कारवाही गरिनेः प्रहरी


धनगढी, कात्तिक २२ गते । गत वर्ष फागुनमा ‘बोक्सीको आरोपमा कुटिएकी कैलाली घोडाघोडी नगरपालिका–५, देउकलीयाकी राधा चौधरीमाथि फेरि सोही आरोपमा कुटपिट भएको छ ।

गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सीको आरोपमा चौधरीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी चौधरी उपचारपछि घर फर्किएकी थिइन् । २१ वर्षीया राधामाथि बुधबार साँझ २८ वर्षिय कालीचरण चौधरीले कुटपिट गरेको कैलाली प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बसिरहेका बेला ‘बोक्सी’ भन्दै राधामाथि घरमै कुटपिट भएको जनाइएको छ । राधाले दिएको किटानी जाहेरीपछि कालीचरणलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।

गत वर्ष स्थानीय ‘भोलेबाबा’ भनेर चिनिने रामबहादुर चौधरीले ‘बोक्सी’ भगाउने भन्दै राधामाथि निर्घात् कुटपिट गरेका थिए । कुटपिट अभियोगमा रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

कुटपिट गर्ने चौधरीमाथि कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ । त्यस्तै, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले कुटपिट गर्ने दोसी पक्राउ परिसकेकाले कानूनअनुसार कारवाही हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया