चुनाव लड्ने निर्णयबाट व्याक भएको होइन, पार्टीले भनेमा तयार हुन्छुँः गौतम


काठमाडौं, कात्तिक २२ गते । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले आफूलाई सांसद बनाउन पार्टीका नेताहरुसँग कहिल्यै माग्न नगएको प्रष्ट पार्नुभएको छ ।

देउँसीभैलो खेल्न निवास पुगेका पत्रकारसँग कुरा गर्दै नेता गौतमले त्यस्तो बताउनुभयो । “मलाई सांसद बनाउनु पर्यो भनेर माग गरेको छैन, मलाई दुवैजना अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्ने चाहना राख्नुभएको हो” गौतमले भन्नुभयो ।

गौतमले पार्टीका केही केन्द्रिय सदस्यहरुले फेरि संसदमा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेर समेत आरोप लगाएको टिप्पणी गर्नुभयो । आफूलाई पूनः संसदमा ल्याउन पार्टीको सचिवालय बैठकले चुनाव लडाउने भनेर सर्वसम्मतीले निर्णय गरेको बताउनुभयो ।

‘सचिवालय बैठकमा सर्वसम्मतीले निर्णय भएको हो । यसबारेमा कुनै विमति थिएन । पछि विमति किन कसरी भयो मैले बुझ्न सकेको छैन्’ गौतमले भन्नुभयो ।

मुलुकको समृद्धि कायम गर्ने अभिभारा वर्तमान सरकारको काँधमा रहेकाले उहाँले त्यहीअनुरुप काम गर्न सरकारलाई सुझाव दिनुभयो । चुनावी घोषणापत्रले मुलुकको समृद्धिको परिकल्पना गरेकाले त्यसलाई कार्यान्वयन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको बताउँदै नेता गौतमले आफू कुनै गुटमा नलागेको दावी गर्नुभयो । पार्टीभित्र केही अराजक तत्वहरु रहेको टिप्पणी उहाँले गर्नुभयो । “म निर्वाचन लड्ने सवालमा सांसदलाई राजिनामा दिन लगायो । वामदेवले सांसद किन्यो भनेर सचिवालयका केही सदस्य र केन्द्रिय सदस्यहरुले आरोप लगाए” गौतमले गुनासो गर्नुभयो ।

आफू निर्वाचन लड्ने निर्णयबाट ब्याक नभएको पनि नेता गौतमले जिकिर गर्नुभयो । ‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होईन्, संसदमा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो । म कुनै नेतालाई मलाई सांसद बनाईदेउ भन्न गएको छैन, जान पनि जाँदिन ।

पार्टीका केही नेताहरुले अन्तर्घात गरेर आफूलाई चुनाव हराएको पनि नेता गौतमले गुनासो गर्नुभयो । ‘त्यो क्षेत्रमा म निर्वाचन हार्ने अंकगणित थिएन, स्थानीय निर्वाचनमा कांग्रेसको २४ हजार मत थियो, नेकपा माओवादीको २६ हजार र एमालेको ३० हजार । यत्तिको फराकिलो मत हुँदाहुँदै पनि चुनाव हार्न पुगें । ममाथि अन्तर्घात भएको कुरा प्रष्टै देखियो’ गौतमले भन्नुभयो ।

तपाईको प्रतिक्रिया