सात जना स्रष्टाहरु विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित


काठमाडौं, मंसिर १ गते । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित विभिन्न सातजना साहित्यिक स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा शनिबार आयोजित पुरस्कार समर्पण समारोह २०७५ मा छवटा पुरस्कारबाट सातजना व्यक्तित्व पुरस्कृत हुनुभएको हो । कार्यक्रममा एक लाख राशीको मनिराज वाङ्मय पुरस्कार २०७४ बाट राष्ट्रकवि घिमिरेलाई सम्मानित गरियो ।

त्यस्तै, दश हजार रुपियाँ राशीका छवटा पुरस्कारबाट सम्मानित हुनेमा स्वामी गौरीशंकर आचार्य (खप्तड स्वामी सचिदानन्द सरस्वती पुरस्कार २०७३), डा. गोविन्द आचार्य (जयराज पन्त लोकसाहित्य पुरस्कार २०७४), डा. नवराज लम्साल (गोदावरी प्रतिभा पुरस्कार २०७४) बाट सम्मानित हुनुभयो ।

सोहीअनुसार मोहन चापागाई (शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार २०७३), ऋषिकेश भारद्वाज (देवराज आचार्य प्रतिभा पुरस्कार २०७४), खगेन्द्र गिरी ‘कोपिला’ (नृपबहादुर स्वाँर साहित्य पुरस्कार २०७४) सम्मानित हुनुभयो । उहाँहरु सबैलाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द एवं प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले पुरस्कृत तथा सम्मानित गर्नुभयो ।

सो अवसरमा सम्मानित व्यक्तित्व डा. नवराज लम्सालले आफूले पाएको नगद १० हजार राशिको पुरस्कारमा थप १० हजार रुपियाँ थपेर पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ मधुवन साहित्यिक प्रतिष्ठान नेपालाई २० हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रतिष्ठाले राष्ट्रकवि घिमिरेलाई पुरस्कृत गरेर सिङ्गो सुदूरपश्चिमबासीलाई गौरवान्वित बनाएको बताउनुभयो । राष्ट्रकवि घिमिरेको जीवन नै कवितामय भएको बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रकवि र उहाँको कवितालाई छुट्याउन म सक्दिनँ, उहाँको दैनिकी नै कवितामय छ ।”

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको उदगमस्थल नै सुदूरपश्चिम भएको बताउँदै सो क्षेत्रबाट नेपाली साहित्य सिर्जनामा ठूलो मद्दत पुगेको बताउनुभयो । ‘सुदूरपश्चिमबाट आएर प्रतिष्ठानमार्फत मलाई सम्मानित गर्नुभयो, म एकदम हर्षित र अनुग्रहित भएको छुँ’ उहाँले भन्नुभयो । साहित्य र संस्कृतिप्रति सुपबासीको समर्पणको उहाँले प्रसंशा गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले नेपाली भाषा साहित्यको उत्थान र श्रीबृद्धिमा प्रतिष्ठानसहित सुदूरपश्चिमका स्रष्टाहरुको प्रसंनीय योगदान रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार मनिराज जोशी, डा. नवराज लम्साल, हरिलाल गिरी, पदमराज जोशी ‘प्रभात’, टि.एन. जोशी लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया