ठाकुरको कार्यकाल सकियो, आजदेखि नेता राजेन्द्र महतो राजपाको संयोजक


काठमाडौ, मंसिर ५ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा आज (बुधबार) देखि राजेन्द्र महतो आउनुभएको छ । यसअघिका संयोजक महन्थ ठाकुरको कार्यकाल सकिएपछि महतो जिम्मेवारीमा आउनुभएको हो ।

राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरेपछि महतो संयोजकमा आउने बाटो खुलेको थियो ।

निर्धारित समयमै महाधिवेशनको सुनिश्चितता गर्न, पार्टीको सर्वोच्च निकायमा सामूहिक निर्णयको अभ्यासनलाई निरन्तरता दिन, संगठनको विकास र विस्तार कार्यलाई गतिशीलता प्रदान गर्न लगायतका उद्देश्यले पार्टीको विधानअनुसार नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतको आधारमा निर्णय गरिएको सो दलले जनाएको छ ।

निर्णयसँगै राजपाको अध्यक्षको मण्डलको संयोजकबाट महन्थ ठाकुरलाई बिदाई गरिएको छ । बैठकले ६ पार्टीबीच एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति र मनोनयनलाई रद्द गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच आफ्नो माग सरकारले सम्बोधन नगरेको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयमा निर्णय गर्ने भएको छ । यसअघिसम्म सरकारले संविधान संशोधनको मुद्दा अगाडि बढाउने आश्वासन दिएको भन्दै राजपाका नेताहरु त्यही आसमा बसेका थिए । तर संशोधनको मुद्दा पनि अघि नबढ्ने र टीकापुर घटना तथा मधेसमा आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिने संकेत सरकारले नगरेपछि राजपा राजनीतिक अन्यौलमा पर्दैआएको छ ।

तपाईको प्रतिक्रिया