स्थानिय सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ


सुनिल चौधरी

झुम्का, मंसिर ५ गते । सुनसरीका थारु बाहुल्य स्थानिय सरकारमा सरकारी कामकाजमा थारु भाषा प्रयोगमा ल्याउनुपर्ने माग थारु प्रतिनिधिहरुले गरेका छन् ।

रामधुनी नगरपालिका नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा थारु अगुवाहरुको सहभागीतामा ईटहरीको चौधरी टोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा थारु वक्ताहरुले सो माग गरेका हुन् ।

सुनसरीका बिभिन्न स्थानिय तहमा सो मागपत्र बुझाउने थारु महिला सभा सुनसरीका अध्यक्ष शुसिला लेखिले बताउनुभयो । कुनैपनि जातिको पहिचान नै भाषा रहेकोले जबसम्म भाषा संरक्षण हुदैन तबसम्म त्यो समुदायको उत्थान हुन नसक्ने ठहर गर्दै सभाले सो अभियान चलाउने बताएको छ । थारु कल्याणकारीणी सभा पुर्व केन्द्रिय सदस्य दिपनारायण चौधरीका अनुसार थारु बाहुल्य स्थानिय तहमा कामकाजि भाषा थारु भाषा भए त्याहाँको समुदायको उत्थान हुनेछ ।

संबिधान २०७२ को धारा ३२ को उपधारा १, २ र ३ मा प्रत्येक ब्यक्ति र समुदायलाई आफनो भाषा प्रयोग गर्ने हक हुनेछ । प्रत्येक ब्यक्ति र समुदायलाई आफनो समुदायको सांस्कृतिक जिवनमा सहभागी हुन पाउने हक हुनेछ । नेपालमा बसोवास गर्ने प्रत्येक समुदायलाई आफनो भाषा, लिपि, संस्कृति, साँस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुने उल्लेख छ । थारु बाहुल्य स्थानिय तहमा अधिकारको रुपमा भाषालाई स्थापित गर्नुपर्ने सुझाव थारु कानुन ब्यवसायी समाजका केन्द्रिय अध्यक्ष रामराज चौधरीले बताउनुभयो ।

कार्यक्रममा सत्यनारायण धामिले नेपालमा मैथली र भोजपुरीभाषा भन्दा जेठो थारु भाषा रहेको बताउनुभयो । स्थानिय तहको कामकाजमा जातिय बाहुल्यता अनुसार भाषा लागु गर्न सकिए त्याहाको स्थानियस्तरमा पनि चाडै बिकास हुने धारणा धामिले ब्यक्त राख्नुभयो ।

थारु भाषा प्रत्येक ३० किलो मिटरमा फरक फरक हुने गरेकोले थारुहरु भाषामा एकत्रित हुनुपर्नेमा थारु चलचित्र तथा साँकृतिक संघ केन्द्रिय अध्यक्ष पर्शुराम चौधरीले बताउनुभयो । पुर्वमा मोरंगीया र सप्तरीयाको भाषा फरक भएपनि आफैमा एकताको कमिकम्जोरी रहेकाले स्थानिय तहमा कामकाजि भाषा लागु गराउन कठिनाई भएको चौधरीले सुझाव दिनुभयो । कसैले मोरंगीया त, कसैको सप्तरीया, पुर्वेलि पश्चिमेली भनेर आ–आफनै अडानका कारण भाषा लागु गराउन सहज नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा थाकसका केन्द्रिय सचिव सुसिला चौधरी, पत्रकार धिरेन्द्र चौधरीले पनि धारणा राख्नुभएको थियो । थारु महिला सभा सुनसरीले प्रतिभावान र क्षमतावान थारु युवाहरुलाई सम्मान गरेको छ । मिस्टर एण्ड मिस थारु आईकनका बिजेता तेजेन्द्र बिश्वास र शिवानि चौधरी, फस्ट रनरअप हुने सिजन र सिर्जना, सेकेन्ड रनरअप सुवास र अंकिता चौधरीलाई सम्मान गरेको हो ।

त्यसैगरी बिराटनगर लिटल आईकनका बिजेता रोजमेरि बिश्वासलाई सम्मान गरेको छ भने थारु महिलाको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा लागेको भन्दै थारु कानुन ब्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीलाई समेत सम्मानित गरेको छ ।

कार्यक्रममा केसिलाल चौधरी, तेजनारायण चौधरी, कुलदिप चौधरी, मनोज चौधरी, एन आरसि चौधरी, टिकाराम चौधरी, देवेन्द्र चौधरी, कालुराम चौधरी, सुवास, राजकुमार र सुनिता चौधरीले स्थानिय तहमा थारु भाषा लागु गर्नुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया