लिफ्ट लिउँ, लिफ्ट दिउँ अभियान शुरु


SAM_2313

काठमाडौं, मंसिर १४ गते । भारतीय अघोषित नाकाबन्दीका कारण भइरहेको इन्धन अभाव र सर्वसाधारणमा परेको यातायात असुविधालाई ख्याल गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सवारी साधनमा “लिफ्ट दिउँ ! लिफ्ट लिउँ !! ” अभियान सोमबार प्रारम्भ गर्नुभएको छ ।

अनेरास्ववियू केन्द्रीय कार्य समितिको आयोजनामा सोमबार साँझ पुरानो बसपार्कबाट मन्त्री राईले सो अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री राईले मोटरसाईकलमा स्टिकर टाँसेर अभियानको शुभारम्भ गर्नुभए लगत्तै अनेरास्ववियूले अभियानको पहिलो दिन एकसय साठी मोटरबाइकमा सर्वसाधारणलाई लिफ्ट दिएको केन्द्रीय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सञ्चारमन्त्री राईले मुलुकको संकटबाट सामना गर्ने सुझबुझ अभियान अन्तर्गत लिफ्ट दिने र लिने अभियान शुरुभएको बताउनुभयो । यसले नेपाली दाजुभाइ र दिदीवहिनीबीचको आत्मीयता र सहयोगको भावनालाई थप मजबुद् गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“विनाकारण शुरुभएको भारतीय अघोषित नाकाबन्दीले हामी संकटबाट पीडित भइरहेका छौं, यो संकटको हामी सबैले मिलेर सामुहिकरुपमा सामना गर्नेर्छौ” भन्नुहुँदै मन्त्री राईले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । “जो जहाँ छ, जहाँबाट सक्छ त्यहीबाटै एकअर्कालाई सहयोग गरौं, सवारी साधनमा लिफ्ट दिउँ र लिफ्ट लिउँ” आग्रह गर्नुहुँदै मन्त्री राईले सरकारी, निजी जुनसुकै सवारी साधनमा अभियानलाई सार्थकता दिन आग्रह गर्नुभयो ।

विद्यमान समस्याको मसाधानकालागि सरकार र राजनीतिकदल सक्रियतापूर्वक लागेकाले अबको केही दिनमै मुलुक संकटबाट निकास पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । “मधेसवादी दलका नेताहरुसँग एकपक्षीय, दुई पक्षीय र बहुपक्षीय वार्ता र संवादको काम शुरुभएको छ, मलाई विश्वास छ, अबको केही दिनमै मुलुकले निकास पाउँछ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अनेरास्ववियूका अध्यक्ष किशोर मल्लले विद्यमान समस्या समाधानका लागि नेपालीहरु सक्षम रहेकाले सामुहिकरुपमा संकटको सामना गर्नुपर्ने बताउनुभयो । कार्यबाहक अध्यक्ष ऐनसिंह महरले सिधासोझा नेपालीले विनाकारण भारतीय नाकाबन्दीको सामना गर्नुपरेकाले त्यसबाट नझुक्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियूका उपाध्यक्ष दीपक गौतम, सचिवालय सदस्य शैेलेश लामा, महासचिव नविना लामा लगायतले भारतीय नाकाबन्दीका कारण उत्पन्न संकटको सामना गर्न नेपालीहरु तयार रहेको बताउनुभयो ।

SAM_2270

SAM_2263

SAM_2297

तपाईको प्रतिक्रिया