आदिवासी थारुको साँस्कृतिक भुमि अतिक्रमण रोक्ने अभियान चलाउनु पर्छ


सुनिल चौधरी
ईटहरी, मंसिर ९ गते । आदिवासीहरुको साँस्कृतिक भुमिमा भइरहेको अतिक्रमण रोक्न अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ । त्यसकालागि पूर्व मेचीदेखि महाकालीसम्म सो अभियान चलाउन सुझाव अगुवाहरुले दिएका छन् ।

साँस्कृतिक भुमि संरक्षणका लागि लागेका आदिवासी अगुवाहरुले शनिबार सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम गरी त्यस्तो सुझाव दिएका थिए । आदिमकाल देखिनै चर्चेर आइरहेको साँस्कृतिक तथा धार्मिक रुपमा रहेको भुमिहरु बिकासका नाममा कुनै बिकल्प नदिई अतिक्रमण हुने र त्यहाँ रहेका संरचना भत्काउने काम भइरहेकाले त्यसो हुन नदिन जनचेतनामूलक अभियानको खाँचो वक्ताहरुले औल्याउनुभयो ।

सुनसरीको बिच्छु ग्रामथान संरक्षण समितिको आयोजना र लाहुर्निपको संयोजकत्वमा आयोजित अन्तरक्रिया कार्यक्रमले अभियान आवश्यक रहेको निस्कर्ष निकालेको छ । सुनसरीका प्रत्येक स्थानिय तहमा रहेको थारु ग्रामथान तथा भुमिहरुको खोजी गरेर तथ्याङ्क संकलन गर्ने छलफल भएको । लगत लिइएका त्यस्ता ग्रामथानको संरक्षणकालागि कानूनी बाटो लिनुपर्ने सुझाव वक्ताहरुको छ ।

वक्ताहरुले आदिवासीहरुको साँस्कृति सम्पदा अतिक्रमणको चपेटमा रहेकाले अभियान आवश्यक रहेको तर्क पेश गर्नुभयो । सुनसरीको रामधुनी, दुहबि, ईनरुवा लगायतका स्थानहरुमा समेत ग्रामथान जोखिममा रहेको स्थानीयले बताएका थिए ।

ईटहरी ६ टेंग्राटोलको बिच्छु धामि ग्रामथानलाई प्रशासनले भत्काउँदा आन्दोलन सहित कानुनि प्रक्रियाबाट संघर्ष गर्दै पुनः निर्माण भएको छ । सोही अभियान अन्यत्र पनि लागु हुनुपर्ने बुझाई स्थानीयको छ । ईटहरी बजारको छेउमै रहेको बिच्चु ग्रामथान पनि भत्किने अवस्थामा रहेको जानकारी स्थानीयले दिए । ईटहरी ४ स्थित रहेको कचना मन्दिर पनि संकटमा पर्दै गएको जानकारी दिइएको छ ।

आदिवासी मानव अधिकारका सुरक्षाकालागी गठित संस्थाको रुपमा रहेको लाहुर्निपका प्रतिनिधि तथा पत्रकार गोपाल देवानले प्रत्येक वडामा समिति गठन गर्दै संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । आदिवासीहको साँस्कृति सम्पदाहरुलाई संरक्षण र अतिक्रमण हुनबाट जोगाउन अभियानको खाँचो रहेको उहाँले सुझाव दिनुभयो ।

साँस्कृतिक भुमिलाई संरक्षणका निम्ति सुनसरी जिल्लाभरि कार्यक्षेत्र रहनेगरी ग्रामथान संरक्षण समिति दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गराई बैधानिक रुपमा अगाडि बढ्ने समेत जानकारी दिइएको छ । ईटहरी ८ टेग्राटोलका स्थानियहरुले सो समिति दर्ता गराएका हुन् ।

कार्यक्रममा थारु महिला सभा केन्द्रिय सचिव सुसिला चौधरी, आदिवासी जनजाति महाँसंघ सुनसरी पुर्व उपाधयक्ष तेजनारायण चौधरी, थारु कानुन ब्यवसायी रामराज चौधरी, समाजसेवि डिल्ली सुब्बा, थारु महिला सभा जिल्ला अध्यक्ष सुसिला लेखि, ग्रामथान संरक्षण समितिका अध्यक्ष झुमा चौधरी, सचिव साबित्रा चौधरी, थाकस ईटहरी नगरसचिव अशोक चौधरी लगायतले ग्रामथान संरक्षणको अभियान आवश्यक रहेको चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया