राजपा नेपालमा आन्तरिक विवाद चुलियो, गुटगत भेला भइरहेको दावी


काठमाडौं, मंसिर ९ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको छ । केही दिन अघिमात्र संयोजकमा नेता राजेन्द्र महतो आएदेखि नै नेताहरुबीच आन्तरिक विवाद बढेको सो दलका नेताहरुले बताउने गरेका छन् ।

महन्थ ठाकुर पक्षीय नेताहरुले सोमवार बिहान ११ बजे आफू पक्षीय केन्द्रीय सदस्यको भेला बोलाएका छन् । बैठक बिजुली बजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा बस्ने जनाइएको छ ।

ठाकुर पक्षीय नेता वृषेशचन्द्र लालको अगुवाइमा बैठक बस्न लागेको बताइएको छ । उसो त राजनीतिक दलभित्र गुट भेला हुनु सामान्यजस्तो भएको छ । तर मधेसकेन्द्रीत राजनीतिलाई एकतावद्ध अघि बढाएर माग सम्बोधन गराउनेगरी पार्टी एकता गरेका मधेसवादी नेताकै गुटगत भेला हुन थालेपछि पार्टीभित्र आन्तरिक किचलो स्पष्ट भएको छ ।

लालले शनिबार नै निकटका नेता तथा कार्यकर्तालाई फोन गरेर बैठकमा बोलाएका छन् । उपत्यका बाहिर रहेका नेताहरु पनि काठमाडौका लागि हिँडिसकेको बताइएको छ ।

यद्यपी सो बैठकमा ठाकुर अनुपस्थित रहने बताइएको छ । बैठकमा ठाकुरलाई संयोजकबाट हटाइसकेपछि कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ ।

ठाकुरलाई संयोजकबाट हटाएको कुरामा विधान देखाएर एकाएक षड्यन्त्रपूर्वक हटाउने काम भएको आरोप ठाकुर पक्षीय नेताहरुको छ । ‘महाधिवेशनको तयारी भइरहेका बेला संयोजक फेरिनु नै गलत भएको ठाकुर पक्षीय नेताहरुको छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ठाकुरले जथाभावी नियुक्ति गर्न थालेपछि संयोजकबाट हटाइएको प्रतिक्रिया दिनुभएको छ ।

‘महाधिवेशनसम्म ठाकुरलाई संयोजक राखेर जाने कुरा थियो तर उहाँले पछिल्लो समय जथाभावी रुपमा मनोनयन तथा नियुक्तिहरु गर्न गाल्नुभयो’, यादवले भन्नुभयो । ठाकुरले आफ्ना सम्धी उमाकान्त झादेखि प्रदेश २ को नीति आयोगमा सुरेन्द्र झालाई नियुक्ति गर्दा कसैसँग सल्लाह नगरेको राजपा नेताहरुको आरोप छ ।

राजपा नेपालमा पहिला पनि दुई गुट थियो । एउटा गुटको नेतृत्व महन्थ ठाकुरले गरिरहनुभएको थियो भने अर्को गुटको नेतृत्व राजेन्द्र महतोले । अहिले पनि त्यही गुट कायमै रहेको राजपाका नेताहरुको दावी छ ।

पहिला महन्थ ठाकुरको साथमा महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा थिए भने राजेन्द्र महतोको गुटमा शरतसिंह भण्डारी मात्र रहेको नेताहरुले बताएका छन् । अहिले महन्थ ठाकुरसँग अनिल झा मात्र बाँकी रहेको ती नेताको दावी छ । राजेन्द्र महतोसँग शरतसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्र राय यादव मिलेको बताइन्छ।

यसैबीच राजपा नेपालले सोमवार अध्यक्षमण्डलको बैठक बोलाएको छ । सरकारसँग वार्ता र अगामी महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको एक नेताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया