थाकस दक्षिण कोरियाको आर्थिक सहयोग, पीडितजनलाई राहत


कारी महतो
चितवन, मंसिर ११ गते । इपिएस प्रणाली मार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनिय काम गरेका छन् ।

केहि समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्युभएका पर्सा जिल्ला निवासी ओम प्रकाश चौधरीका परिवारलाई थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया शाखाले आर्थिक सहयोग गरेको कुरा शाखाका अध्यक्ष शिव चौधरीले बताए ।

अध्यक्ष चौधरीकाअनुसार तीन वर्ष अगाडि कोरिया गएका प्रमोद चौधरीको आकस्मिक मृत्यु भएपछि उनको श्रीमती सरीता चौधरीलाई थाकस दक्षिण कोरियाले १८ लाख ११ हजार कोरियन वोन अर्थात् नेरू १ लाख ८० हजार ८३८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै मृतक ओमप्रकाश चौधरीका छोरा विश्वप्रताप चौधरीलाई नेरू. १ लाख ६३ हजार १३६ रुपैयाँ सहयोग गरेका छन् । सो सहयोगले पीडितजनलाई सहयोग पुगेको छ ।

उक्त सहयोग रकम हाल नेपालमा रहेका थाकस दक्षिण कोरियाका निवर्तमान अध्यक्ष पुष्प चौधरी मार्फत हस्तान्तरण गरिएको छ । त्यस अभियनलाई सफल बनाउन लिलाकान्त महतोको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो ।

यसअघि दक्षिण कोरियामा थाइराइडका विरामी भएका चितवन बछौलीका जीतबहादुर महतोलाई नेरु १ लाख ४० हजार, बाढी पिडितका लागि न्युज २४ का कार्यक्रम संचालक रवि लामिछाने मार्फत नेरु १ लाख ५ हजार ५०० रुपियाँ, चितवनका घाइते सन्जीत महतो राहत कोषलाई १ लाख ५ सय, शुद्धोदन गाउँपालिका २ गोपालपुर रूपन्देही मुटु रोगी रिमा थारूलाई नेरू १ लाख १५१ र वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया गएका चितवनका मिर्गौला पीडित हरेराम महतोलाई नेरु ८० हजार रुपियाँ आर्थिक सहयोग गरेका थिए ।

केहि दिन अगाडि उदयपुर जिल्ला वेलका नगरपालिकामा पिकनिकबाट फर्किनेक्रममा ट्याकटर दुर्घटनामा ३ जनाको मृत्यु भयको थियो । ८ जनाको अबस्था गम्भीर थियो । ती घाइतेहरुलाई थाकस दक्षिण कोरियाले आर्थिक सहयोग गर्ने भनेर सभाका बरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारूले जानकारी दिए ।

दक्षिण कोरियामा कुनै पनि संस्था वा संगठनलाई कोरिया सरकारले मान्यता दिएको छैन । तथापि गैरआवासिय नेपालीहरु एक आपसमा संगठित भई मानवीय सहयोग गर्दै आएका छन् ।

 

थाकस दक्षिण कोरियाले आफ्ना सदस्यहरुको कुनै भवितव्य परी विरामी वा मृत्यु भएकाहरुलाई सभाको कोषबाट तीन लाख कोरियन वोन सहयोग गर्ने र थप रकमका लागि ऐच्छिक सहयोग संकलन गर्ने गरेको कुरा अध्यक्ष शिव चौधरीले बताए ।

तपाईको प्रतिक्रिया