गोलिहानी हत्या गरिएका दिपेन्द्र चौधरीका परिवारलाई दश लाख रुपियाँ राहत


काठमाडौं, मंसिर १३ गते । अज्ञात समूहको गोलीबाट हत्या गरिएका कपिलवस्तुका दिपेन्द्र चौधरीका परिवारलाई राहतस्वरुप सरकारले दशलाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शुद्धोधन गाउँपालिका ४ का राजाबाबुका नामले चिनिने चौधरीलाई मंसिर ७ गते अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । तत्कालिन फोरम लोकतान्त्रिकका स्थानीय नेतासमेत रहेका चौधरीको हत्यामा संलग्नको अझै सरकारले फेला पार्न सकेको छैन । नेता विजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गरेपछि असन्तुष्ट चौधरी स्वतन्त्र बस्दैआएका थिए ।

त्यस्तै, मंसिर ५ गते सुनसरीको दुहवी नगरपालिकामा अज्ञात व्यक्तिको गोलीप्रहारबाट मारिएका फिदा हुसेनका परिवारलाई पनि सरकारले १० लाख रुपियाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मंसिर १७ र १८ गते पोल्याण्डको कातोविच शहरमा हुने राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धीको २४ औं सम्मेलनलाई उदघाटन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सेलर आङ सान सुचीको नेपालको औपचारिक भ्रमणलाई स्वीकृत गरेको छ । उहाँहरु विहिबार नै नेपाल आइसक्नुभएको छ ।

सोहीअनुसार नेपाल सरकार र क्याम्बोडिया सरकारबीच हुने हवाई सेवा सम्बन्धी सम्झौतामा सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सचिवलाई प्रारम्भिक हस्ताक्षर गर्ने स्वीकृति मन्त्रिपरिषद बैठकले दिएको मन्त्री बाँस्कोटाले बताउनुभयो । त्यस्तै, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई डा. अम्बेडकर इन्टरनेशनल अवार्ड २०१८ ग्रहण गर्न भारत जान बैठकले स्वीकृति प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया