पर्यटन प्रवर्धनका लागि प्रदेश ५ स्तरीय सौन्दर्य प्रतियोगिता हुने तयारीमा


काठमाडौं, मंसिर १९ गते । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश ५ स्तरीय सौन्दर्य प्रतियोगिता २०७५ गर्ने तयारी गरिएको    छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहेका बेला हुने यो प्रतियोगिताले सरकारको कदमलाई सहयोग पुग्ने विश्वास आयोजकको छ ।

मिष्टर एण्ड मिसेस टुरिज्म नेपाल र चम्पन सांस्कृतिक समूहको संयुक्त आयोजनामा आगामी माघको दोस्रो सातातिर दाङको लमहीमा सो प्रतियोगिता गर्ने तयारी आयोजकको छ । सबै समुदायका युवा युवतिलाई सो प्रतियोगितामा समेट्ने तयारी गरिएको आयोजक संस्थाकी सुशीला चौधरीले बताउनुभयो ।

१८ वर्षदेखि २८ वर्षसम्मका युवा युवतिले प्रतियोगितामा भाग लिनसक्ने प्रावधान बनाइएको चौधरीले बताउनुभयो । प्रदेश ५ को बीच भागमा पर्नेगरी र यातायातको समेत सुविधा हुनेगरी लमहीमा कार्यक्रम गर्ने तयारी गरिएको आयोजकले बताएको छ । प्रतियोगिताका लागि फारम खुल्ला गर्ने तयारी गरिएको चौधरीले बताउनुभयो ।

यसअघि मिष्टर एण्ड मिस थारु प्रतियोगिता विभिन्न चरणमा सम्पन्न भएको छ । त्यसमा थारु युवा युवतिहरुलाई मात्र समेटिने भएपनि सौन्दर्य प्रतियोगितामा सबै समुदायका युवा युवतिले सहभागी हुन पाउने आयोजकले बताएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको सो प्रतियोगिताले युवा युवतिहरुको क्षमता प्रवद्र्धन र प्रस्तुतिकरण देखिने विश्वास आयोजकले गरेको छ ।

तपाईको प्रतिक्रिया