नेपाली सञ्चारमा समयसुहाउँदो समावेशीता आवश्यकः सञ्चारमन्त्री राई


SAM_2327

काठमाडौं, मंसिर १५ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले विद्यमान सञ्चारनीतिलाई पुनरावलोकन गरेर संघीय संरचनाअनुसारको समावेशी सञ्चार संरचना बनाई अगाडि बढ्ने बताउनुभएको छ ।

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा मंगलबार यहाँ आयोजित समावेशी सञ्चार नीति विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै मन्त्री राईले त्यस्तो बताउनुभयो । त्यसकालागि चाँडै सञ्चारनीति पुनरावलोकन कमिटी गठन हुने र फोनिजलाई पनि सो कमिटीमा सहभागी गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

SAM_2336

नयाँ संविधानको स्पिरिटलाई टेकेरै अगाडि बढ्नुको विकल्प अहिले नरहेको भन्नुहुँदै उहाँले भएको समावेशी समानुपातिक व्यवस्थालाई टेक्दै थप उपलब्धीका लागि पहल गर्नुपर्ने बताउनुभयो । “नयाँ संविधानले संशोधनको ढोका खुलै राखेको छ, भएको उपलब्धीलाई टेक्दै बाँकी विषयलाई विधि र प्रक्रियाअनुसार संशोधन गरेर अगाडि बढ्न सकिन्छ” मन्त्री राईले भन्नुभयो ।

समावेशीता, पहिचान र जनजाति अधिकारका लागि पुनः आन्दोलनमा जानुभन्दा सम्बोधन भएको विषयलाई कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिनुहुँदै मन्त्री राईले नयाँ संविधानले अधिकांश सबैको भावना र अधिकारको कदर गरेको दावी गर्नुभयो । संविधानले सम्बोधन गरेको विषयलाई सम्बोधन नगरेको भनेर भ्रम फैलाउनु र बुझेको कुरालाई नबुझेझै गर्नु गलत मनसाय भएको तर्क गर्नुहुँदै उहाँले सञ्चारमा समावेशीकरणको आवश्यकता रहेको बताउनुभयो ।

SAM_2323

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले नयाँ संविधानले सूचनाको हकसहित अभिव्यक्ति स्वतन्त्रताको सुनिश्च्तिा गरेको भएपनि समग्र मिडियाको अधिकारलाई कुण्ठित गरेको बताउनुभयो । कानून बनाएर मिडियागृहलाई खारेज गर्न सकिने खालको प्रावधानहरु संविधानमा राखेर संविधानले नेपाली मिडियाप्रति न्याय नगरेको उहाँले आरोप लगाउनुभयो । संविधानमा अस्पष्ट र दोहोरो अर्थ लाग्नेखालका शब्दहरु रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष तथा सांसद नगेन्द्र कुमालले नयाँ संविधान बाहिरबाट हेर्दा सबैथोक समेटेको देखिने गरेपनि भित्र खोक्रो रहेको आरोप लगाउनुभयो । संविधानको माथिल्लो पृष्ठमा सुनको जलप लगाएर राम्रो देखाउने प्रयास मात्र गरिएको हो उहाँले बताउनुभयो ।

SAM_2342

फोनिजका अध्यक्ष डण्ड गुरुङ्को सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्यहरु, फोनिजका पदाधिकारी तथा सदस्यहरु, जातीय पत्रकार संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा सञ्चारमन्त्री राईलाई फोनिज तथा त्यस मातहतका जातीय पत्रकार संघको तर्फबाट खादा तथा प्रमाणपत्र प्रदान गरेर बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

SAM_2341

SAM_2339

तपाईको प्रतिक्रिया