मुद्दा र विचार मिल्ने पक्षसँग पार्टी एकता गर्न फोरम नेपालको वार्ता समिति


काठमाडौँ, मंसिर २२ गते । संघीय समाजवादी फोरम नेपालले राजनीतिक मुद्दा र विचार मिल्ने पक्षसँग पार्टी एकीकरण गर्न वार्ता समिति गठन गरेको छ । यद्यपि भारतले मधेसमा वैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्न फोरम नेपाललाई दवाव दिदैआएको छ ।

राजधानीमा शनिबारदेखि शुरु भएको फोरम नेपालको केन्द्रीय समितिको बैठकले सो वार्ता समिति बनाएको हो । राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणको पहल धेरै पहिलेदेखि भएपनि सकारात्मक परिणाम आउन सकेको छैन । छिमेकी मुलुक भारतले दुवै शक्तिलाई एक ठाउँमा मिल्न दवाव भने दिंदैआएको छ ।

भारतको चाहना अनुरुप राजपा र फोरम नेपालका अध्यक्षबीच यसअघि वार्ता र छलफल भइसकेको छ, दुवै दलका युवा नेताहरुबीचमा पनि पार्टी एकीकरणका विषयमा छलफल र वार्ता भएका छन् ।

गत भाद्र २४ गते भारतबाट फर्केका उपेन्द्र यादव असोज १६ गते सोबारे महन्थ ठाकुरकै निवासमा गएर छलफल गर्नुभएको थियो । भेटमा ‘आफू एकीकरणका लागि तयार रहेको यादवले बताउनुभएको थियो ।

राजपा नेपाल गठन हुनुभन्दा पहिला तत्कालिन सदभावना र तमलोपासँग पनि फोरम नेपालको एकीकरणको प्रयास भएको थियो । तर त्यसबेला पनि परिणाम आउन सकेन ।

राजपा नेपालसँग मात्र होइन, मुद्दा र विचार मिल्ने अन्य दलहरुसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको पार्टीका केन्द्रीय सदस्य सन्तोष सिलवालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया