काठमाडौं, मंसिर २४ गते । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अहिले प्रहरीले सोही ठाउँका निवासी विशाल चौधरी, दिनेश चौधरी र प्रदीप रावललाई हिरासतमा राखेर केरकार गरिरहेको छ । सरकारका मन्त्री तथा प्रहरीले खोजी कार्य सत्यको नजिक पुगेको दावी गरेपनि अहिलेसम्म कुनै आधार फेला पार्न सकेको छैन ।
घटना भएको चार महिना पूगिसक्दासमेत घटनामा संलग्नको पत्ता लगाउन नसक्दा सरकार र प्रहरी प्रशासनको चौतर्फी आलोचना भइरहँदा प्रहरीले सोही रिसमा निर्दोस नागरिकलाई पक्राउ गरी केरकार र यातना दिइरहेको फेला परेको छ । घटनाका आरोपी भनेर भिमदत्तनगर १८ का विशाल चौधरी, दिनेश चौधरी र प्रदीप रावललाई पछिल्लो समय हिरासतमा राखी केरकार पारेको पीडितका परिवारका सदस्यले बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको निर्देशनमा प्रहरीले केही दिन अघि दिनेश चौधरीलाई पक्राउ गरी मानसिक र शारीरिक यातना दिएको परिवारका सदस्यले बताएका छन् । प्रमाण केही न भेटेपछि दिनेश चौधरीलाई प्रहरीले छाडिसकेको छ । तर विशाल चौधरी र प्रदीप रावललाई अझै केरकार गरिरहेको छ । निर्मला पन्तको घटना भएको गत साउन १० गते विशाल चौधरीसहित तीनैजना वडा प्रहरी कार्यालय भिमदत्तनगरको हिरासतमै रहेको रेकर्डबाट भेटिएको छ ।
विशाल चौधरी, प्रदीप र दिनेश चौधरीले स्थानीय एक खोकामा चोरी गरेको आरोपमा प्रहरीको पक्राउमा परेका थिए । साउन ९ गते राती चोरी घटनामा संलग्न उनीहरु साउन १२ गतेमात्र प्रहरीको हिरासतबाट मुक्त भएको विशालका बुवा वीरबहादुर चौधरीले बताउनुभयो । निर्मला पन्त साउन १० गते घरबाट बेपत्ता भई ११ गते उनको शव उखुबारीमा फेला परेको थियो । विशाल चौधरीसहित तीनैजना प्रहरीकै हिरासतमा रहेका बेला कसरी घटनामा संलग्न हुन्छन् पीडितका बुवा चौधरीले प्रश्न गर्नुभयो ।
अनुसन्धानको नाममा प्रहरीले निर्दोसलाई बेकारमा दुःख दिइरहेको विशालका बुवा चौधरीले गुनासो पोख्नुभयो । वडा प्रहरी कार्यालय सालघारीले तीनै जनालाई चोरी घटनामा पक्राउ गरी १२ गते छाडेको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कठायतले बताउनुभयो ।
हाल विशाल चौधरी र प्रदीप रावल केन्द्रीय अनुसन्धान व्यूरोको निर्देशनमा महानगरीय प्रहरी बृत्त महाराजगञ्जको नियन्त्रणमा छन् । दुवैको डिएनए परीक्षण गरिएको तर नेगेटिभ प्रतिवेदन आएको बुझिएको छ । प्रदीपले आफूलाई निर्मला पन्तको प्रेमी बताएपछि उनलाई प्रहरीले आशंकाको घेरामा राखेको थियो । प्रदीपको बयानको आधारमा दिनेश चौधरी र विशाल चौधरीलाई पनि प्रहरीले पक्रेको थियो ।