जनयुद्धमा सबैभन्दा वढी त्याग र बलिदानी थारु समुदायको छः अध्यक्ष प्रचण्ड


काठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र जनयुद्धमा सबैभन्दा वढी त्याग र बलिदानी तराईका थारु समुदायको रहेको चर्चा गर्नुभएको छ ।

थारू भाषाको त्रैमासिक पत्रिका ‘मुक्तिक डगर’ (मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले त्यस्तो चर्चा गर्नुभयो । शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कसैसँग पनि सम्झौता गर्न नसक्ने प्रचण्डले बताउनुभयो ।

नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा पुग्न नसकेको उहाँको भनाइ थियो । आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उहाँले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताउनुभयो ।

थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरी रत्गैयाँले यसअघि सम्पादन गर्नुभएको उक्त पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु भएको छ । सशस्त्र युद्धकालमा चौधरीलाई नेपाली सेनाले मारेको थियो । चौधरीको हत्यापछि पत्रिका बन्द थियो । पुनः चौधरीका छोरी इन्दू थारुले सो पत्रिका निरन्तरता दिने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया