भगतराम थारु
नेपालगञ्ज, मंसिर २८ गते । नेपालगन्जमा शुक्रवारदेखि सुरु भएको नेपालगन्ज खाद्य मेला २०७५ मा थारु नाचले रौनकता थपिदिएको छ । खाद्य मेलाको उदघाटनमा थारु छोक्रा, मयुर नाच प्रस्तुत गरिएको थियो ।
उद्घाटन शत्रमा थारु समुदायको परम्परागत नाचलाई प्रायजसो हरेक कार्यक्रममा सम्मानका साथ प्रस्तुत गरिने गरिन्छ । त्यसले मेलामा उपभोक्ताको आकर्षण बढाउने काम गर्नेगर्छ । थारु कलाकार मंच बाँकेको पहलमा थारु सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थारु कलाकार संघ बाँकेका अध्यक्ष सोहनलाल थारुले बताउनुभयो ।
मेला अवधिभर थारु सांस्कृतिक झल्कने नाच तथा थारु कलाकारहरुको समेत प्रस्तुती रहने उहाँले जानकारी गराउनुभयो । “परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं” मूल नाराका साथ नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मेला आयोजना गरेको हो ।
मेला मंसिर २८ देखि पुष १ गतेसम्म सञ्चालन रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ । मेला नेपालगन्जको रामलिला मैदानमा आयोजना गरिएको छ । २०७३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको खाद्य मेलामा ६० वटा स्टल राखिएका छन् ।
मेलामा विभिन्न जातजातिहरुको मौलिक परम्परागत पोषणयुक्त खाद्य पदार्थको स्टल, स्थानीय उद्योगहरुबाट उत्पादित खाद्य पदार्थहरुको प्रदर्शनी तथा विक्रीस्टल, होटल रेष्टुरेन्ट व्यवसायीक स्टल राखिएका छन् । मेलामा सर्वसाधारणलाई पनि प्रवेश निःशुल्क रहेको आयोजक खाद्य गुण नियन्त्रक कार्यालयका वरिष्ठ कार्यालय प्रमुख ज्योत्स्ना श्रेष्ठले बताउनुभयो ।