तमु सञ्चारकर्मी संघ नेपालले गर्यो सातजना पत्रकारलाई सम्मानित


काठमाडौं, पुस १३ गते । आदिबासी समुदायको हकअधिकार, भाषा संस्कृतिको उत्थानमा योगदान दिएको भन्दै तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सातजना आदिबासी पत्रकारलाई सम्मानित गरेको छ ।

तमु (गुरुङ) ल्होसार २०७५ को अवसरमा संघले पत्रकारलाई सम्मानित गरेको अध्यक्ष रविन गुरुङले बताउनुभयो । टुँडीखेलमा शुक्रबार आयोजित कार्यक्रमबीच पत्रकारलाई गुरुङ संस्कृतिको पगडी लगाइदिएर नगद सहित सम्मानित गरेको हो ।

सम्मानित हुनेमा पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ र गजुरधन राई सम्मानित   हुनुभयो । पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट जुली गुरुङ, तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट मिलन तमू सम्मानित हुनुभयो । पुरस्कारको राशी १० हजार रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।

त्यस्तै, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट असिफ गुरुङ, सीआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट आश गुरुङ र तमु पत्रकारिता पुरस्कारबाट आनन्द गुरुङ सम्मानित हुनुभयो । पुरस्कारको राशी १० हजार नगद र सम्मानपत्र रहेको छ ।

पत्रकार डण्ड गुरुङको संयोजक रहेको छनौट समितिको सिफारिसमा पत्रकारलाई सम्मानित गरिएको संघका अध्यक्ष रविन गुरुङले बताउनुभयो । गुरुङकाअनुसार हरेक वर्ष सम्मानित गर्ने कार्यक्रमका लागि एकजना गैर गुरुङपत्रकार छनौट गर्ने गरिएको छ । जसमा यसवर्ष राई पत्रकार पर्नुभएको    छ ।

तपाईको प्रतिक्रिया