घोराही, पुस १४ गते । थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेश स्तरीय माघी महोत्सव २०७५ हुने भएको छ । माघ महिनालाई विशेष पर्वकोरुपमा मनाउने थारु समुदायले ठाउँ ठाउँमा महोत्सवको तयारी गरेको सूचना आइरहेको छ ।
पुस २६ र २७ गते महोत्सव आयोजना गर्न लागिएको महोत्सवलाई भव्य बनाउन जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सो सभापति चौधरीले बताउनुभयो । महोत्सवमा थारु मघौटा नाचको विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवको उदघाटन प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले गर्नुहुने आयोजकले बताएको छ ।
महोत्सवमा थारू खानाका परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, जाँड, माछा, सुँगुरको मासु, गगंटा, सीपि लगायतको परिकार रहने आयोजकले बताएको छ । त्यसैगरी महोत्सवमा परम्परागत थारु हस्तकला, थारू भाषाका पुस्तक पत्रपत्रिकाको प्रदर्शनी पनि गरिने संयोजक चौधरीले बताउनुभयो ।