सुनसरी, पुस २५ गते । सुनसरीको झुम्कास्थित जितमहान चोकमा थारु महिला उत्थान समाजले पुस ३० गते एकदिने माघी महोत्सव २०७५ आयोजना गर्ने भएको छ । थारुको महान पर्व माघीलाई तिला संक्रान्तिकोरुपमा पनि पूर्वका थारुले मनाउने गर्छन् ।
महोत्सवमा थारु समुदायको भेषभुषा प्रदर्शन सँगै पौराणिक धुम्रा नाचको दोहोरी प्रतियोगिताको आयोजना हुने उत्थान समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो । महोत्सवमा थारु फुड फेष्टिबलसँगै स्थानीय थारु कलाकारहरुको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तयारी आयोजकको छ ।
महोत्सवमा थारु खानाका परिकार, थारु हस्तकला तथा थारु झाँकीको प्रदर्शन गर्ने तयारी आयोजकको छ । थारु भाषा, संस्कृतिको संरक्षण गरी थारु पहिचान कायम गर्ने उद्देश्यसाथ महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
महोत्सवको उदघाटन रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले गर्नुहुने उत्थान समाजकी अध्यक्ष चौधरीले जानकारी दिनुभयो । गत वर्ष सातदिन महोत्सव आयोजना गरेको उत्थान समाजले यस वर्ष एकदिने महोत्सव गर्ने बताएको छ ।