थारुको माघी महोत्सव चुच्चेपाटीमा, उदघाटन १ गते प्रधानमन्त्रीले गर्नुहुने


काठमाडौं, पुस ३० गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले यसवर्ष पनि काठमाडौंमा माघी महोत्सवको तयारी गरेका छन् । तर यसपल्ट महोत्सव चुच्चेपाटीस्थित होटल ह्यात रेजिन्सीको मैदानमा पुगेको छ ।

मगर समुदायले टुँडीखेलमा महोत्सवकालागि कब्जा गरेपछि थारुको महोत्सव चुच्चेपाटीमा पुगेको थारु कल्याणकारिणीसभा ९थाकस० का महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । थारु माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

यद्यपि टुँडीखेलका मैदानकालागि गत वैशाखमै निवेदन दिएको थाकसले अन्तिम समयसम्म प्रयास गर्दापनि सम्भव नभएको चौधरीले बताउनुभयो । उपत्यकासहित तराईका २२ जिल्लामा बसोबास गर्ने थारु समुदायले माघी पर्वलाई विशेष महत्वकासाथ मनाउने गर्छन् ।

माघी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले माघे संक्रान्तिको अवसरमा छुट्टाछुट्टै विज्ञप्ती जारी गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीजनको सुख शान्ति तथा समृद्धिकालागि शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा सोमबार विज्ञप्ती जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “यस पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिबृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास मैले लिएको छुँ ।”

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा नेपाली दाजुभाइ तथा दिदिवहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार विज्ञप्ती जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “माघी थारु समुदायका लागि स्वतन्त्रता दिवस हो, माघी तथा माघे सक्रान्ती पर्वले थारु तथा मगर समुदायका साथै सम्पूर्ण नेपालीहरुको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्, शुभकामना व्यक्त गर्दछुँ ।”

उपत्यकामा बसोबास गर्ने थारु समुदायले २०५९ देखि हरेकवर्ष महोत्सवको आयोजना गर्दैआएका छन् । चुच्चेपाटीमा आयोजना हुने महोत्सवका लागि चावहिलचोकमा मंगलबार विहान १०ः३० बजे जम्मा भएर झाँकीसहितको ¥याली प्रदर्शन गर्ने तयारी भएको थाकसका सहमहामन्त्री मिनराज थारुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया