
काठमाडौं, माघ १ गते । उपत्यकामा बासोबास गर्ने थारु समुदायले यसवर्ष पनि माघी महोत्सवको आयोजना गरेका छन् । हरेक वर्ष टुँडीखेलमा महोत्सव आयोजना गर्दैआएका थारुले यसपल्ट चावहिल चोकभन्दा करिब दुई किलोमिटर टाढाको चुच्चेपाटी मैदानमा महोत्सव आयोजना गरे ।
मगर समुदायले टुँडीखेल ओगटेपछि थारुहरु अन्तिम समयमा आएर चुच्चेपाटीमा महोत्सवको आयोजना गरेका थिए । महोत्सव अपायक पर्ने ठाउँमा भएका कारण र महोत्सवबारे प्रचार प्रसारको कमीले विगतकोजस्तो सहभागिता महोत्सवमा यसपल्ट देखिएन । यद्यपि महोत्सवमा सहभागी थारु प्रतिनिधिहरु खुशी सातासाथ गरी रमाएका थिए ।
महोत्सवको उदघाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । मुलुक नयाँ चरणमा प्रवेश गरिसकेकाले अव कुनै जाति वर्ग र समदायलाई विभेद नहुने पोखरेलले बताउनुभयो । हिजोका दिनमा भएको विभेद र अन्यायको श्रृङ्खला अव पूर्णतः अन्त्य भएको धारणा उहाँले राख्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न तय भएको महोत्सवको अन्तिममा आएर उपप्रधानमन्त्री पोखरेलले गर्नुभयो । प्रधानमन्त्रीले आफू अस्वस्थ भएकाले आउन नसकेको भन्दै उपप्रधानमन्त्री पोखरेललाई पठाउनुभएको थियो । तर टुँडीखेलमा आयोजना भएको मगर समुदायको महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफै जानुभएको थियो ।
थारु समुदायका सदस्यहरु हिजोकादिनमा कमैया कमलरी बस्नुपर्दा ठूलो अन्याय र शोषण भएको प्रसंग उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाले अव पहिलाकोजस्तो विभेदको कुनै गुन्जाइस नरहेको बताउनुभयो । थारु समुदायका अगुवाले उठाएको विभेदको विषयमा प्रष्ट पार्दै नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहनुभएका पोखरेलले टीकापुर घटनाको विषय कानूनअनुसार टुंगो लाग्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सांसद रुक्मिणी चौधरी, थारु कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरी, सहमहामन्त्री मिनराज थारु, थाकसका पूर्व अध्यक्ष नरेन्द्र चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु युवा सभाका कानूनलाल चौधरी, समाजसेवी शिव चौधरी, पत्रकार किशोर चौधरी लगायतले थारुमाथि अन्याय भएकाले टीकापुर घटनालाई राजनीतिक मुद्दा नबनाइएको आरोप लगाउनुभएको थियो ।





