तिला संक्राइत तथा माघी महोत्सवले सुनसरीको झुम्का बजार गुन्जयमान


रामधुनी, माघ १ गते । थारु महिला उत्थान समाजले आयोजना गरेको एकदिने तिला संक्राइत तथा माघी महोत्सव २०७५ ले सुनसरीको झुम्काबजार गञ्जयमान भएको छ । महोत्सवको करिब अढाई हजार जनाले अवलोकन गरेको आयोजकको दावी छ ।

गत वर्ष साताभर महोत्सव मनाएको उत्थान समाजले यसवर्ष पुस ३० गते सोमबार एक दिवसीय महोत्सव आयोजना गरिएको समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो । थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनकालागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकार र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा पूर्वी लोकभाका जत्ताजत्तिको प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

महोत्सवमा थारु परिकार घाेंघी, भक्का, तिलको लड्डु, भुजा, सिपी, सुंगुर तथा बंगुरको मासु, कुखुरा तथा परेको मासु, भुजा, बगिया, रोटी लगायतका परिकारहरु राखिएका थिए । त्यस्तै थारुको पहिचान झल्किने पौराणिक पोष्टर तथा मूर्तिहरुको पनि प्रदर्शन गरिएको थियो । करिब दुई लाख लागतमा आयोजना गरिएको महोत्सवले थारु संस्कार संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उत्थान समाजकी अध्यक्ष चौधरीले बताउनुभयो ।

महोत्सवको उदघाटन रामधनुी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले गर्नुभएको थियो । कार्यक्रममा उपमेयर सविना चौधरीसहित दुर्गा फुँयाल, केसीलाल चौधरी, धिरेन्द्र चौधरी, रन्जिता चौधरी, विमला चौधरी लगायतले थारु संस्कृति तथा थारु अधिकार र पहिचानका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको थियो ।

थारु संस्कृति समृद्धिको पहिचान, माघी महोत्सव एक अभियान नारासहित शुरुभएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीहरुको पनि प्रस्तुती रहेको थियो ।

तपाईको प्रतिक्रिया