काठमाडौं, माघ ६ गते । संवैधानिक परिषदको बैठकले पाँचवटा आयोगका अध्यक्षहरुको नाम आइतबार सिफारिस गरेको छ । थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी (वर्दिया) को नाम सिफारिस भएको छ ।
वर्दिया निवासी चौधरी तत्कालिन माओवादीका नेता हुन् । अहिले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका चौधरीको नाम आयोग अध्यक्षकालागि सिफारिस भएको हो । आयोगका अध्यक्षहरुलाई सरकारको सिफारिसमा राष्टपतिले नियुक्ती गर्ने संवैधानिक व्व्यवस्था छ ।
त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो । पौडेलले यसअघि स्थानीय तह पुनर्संरचना आयोगमा संयोजक भएर काम गरेका थिए ।
प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दैआएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको छ ।
सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा आयोगको काम सुचारु हुन सकेको थिएन । यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको छ ।