चितवनको खिचरा महोत्सवमा ८० जना कृषकहरु भए नगदसहित पुरस्कृत


कारी महतो
खैरहनी, माघ ६ गते । चितवनका उत्कृष्ट ८० जना कृषकलाई खिचरा महोत्सवमा पुरस्कृत गरिएको छ । कृषकहरुलाई नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् ।

छैठौ खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रममा आइतबार मन्त्री लामाले उक्त कुरा बताएका हुन् ।

खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीमा सहभागी भएका कृषकहरु आज खिचरा महोत्सवमा पुरस्कृत भए । ८० जना कृषकहरुलाई ७३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

१०÷१० कृषकहरुले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गर्नुका साथै ५० जना कृषकहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीय र सान्त्वना पुरस्कार स्वरुप क्रमशः जनही दुई हजार, एक हजार पाँचसय, एक हजार र पाँच सयका दरले पुरस्कार वितरण गरिएको महोत्सवका कोषाध्यक्ष भिखु चौधरीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया