जमुनाहा बजार भारतीय नागरिकले र रुपैडिहा बजार नेपाली नागरिकले धाने


भगतराम थारु
नेपालगञ्ज, माघ ८ गते । नेपाल–भारतको सिमाना नजिकै नेपाली जमुनाहा बजारलाई भारतीय नागरिकले धानेका छन् । भारतीय बजार रुपैडिहालाई नेपाली नागरिकले धानेका छन ।

नेपाली नागरिक भारतमा सस्तो सामान पाइन्छ भनेर भारतको रुपैडिहा किनमेलका लागि जान्छन भने भारतीय नागरिक नेपाली बजार जमुनाहामा सस्तो र टिकाउ सामान पाइन्छ भन्दै किनमेल गर्न आउने गरेका छन् । सीमासँग जोडिएको जमुनाहा बजार भारतीय ग्राहकले धान्दै आएको स्थानिय व्यापारी बताउँछन् ।

भारतसंगै रहेका जमुनाहा बजारका ९० प्रतिशत ग्राहक भारतीय भएको जमुनाहाका व्यपारीहरुको भनाई छ । भारतबाट नै ग्राहाक आउँछन जमुनाहाका एक व्यवसायीले भने । नेपाली ग्राहक कमै मात्रामा आउने तर भारतीय ग्राहाक हरेक दिन किनमेलका लागि जमुनाहा बजार आउने गरेको एक स्थानिय व्यापारीले बताए ।

हरेक दिन उपभोग्य बस्तु किनमेलका लागि जमुनाहा नाका भारतीय नागरिक आउने गरेको ऋतु इम्पेक्स जमुनहाका ब्यापारी पंकजकुुमार शर्माले बताए । आफ्नो पसल नेपालीका लागि नभई भारतीय ग्राहाकलाई लक्षित भएको उनले बताए । भारतीय सीमा बजारको तुलनामा जमुनहा बजारमा ३० प्रतिशत सस्तोमा सामान पाइने र टिकाउ समेत रहेको हुनाले भारतीय ग्राहाकले नेपाली बजार जमुनाहामा आउने गरेको उनको भनाई छ ।

भारतीय ब्यापारीले भारतीय रुपैयाँमा जोडेर सामानको मूल्य निर्धारण गरेका कारण महँगो पर्ने बताउँदै उनले भारतमा पाइने सामान किन्न भारतीयहरू नेपालमा आउने गरेको दावी गरे । ‘सस्तो मूल्यमा सामान पाइन्छ भन्ने गलत बुझाइका कारण नेपालीहरू भारतीय बजार जान्छन् तर भारतीयहरू जमुनहा बजार आएर किनमेल गरेर फर्किन्छन,’ उनले भने ।

भारतीय ग्राहाकलाई लक्षित गरी जमुनाहा बजारमा झण्डै ६० वटा पसल संचालनमा छन् । यहाँ किराना, फेन्सी, होटल र कस्मेटिक पसल धेरै भएको जाकिर अली बेहनाले बताए । किराना, कपडा पसल मध्ये होटल धेरै भएको उनले बताए । ब्यापारी र सरकारी कर्मचारी समेत आउँछन् जमुनहा बजार जमुनहा बजारमा भारतका सर्वसाधारण मात्र नभई भारतीय सीमा बजार रुपईडिहाका ब्यापारी, सरकारी कर्मचारी, सशस्त्र सीमा सुरक्षा बल (एसएसवी) तथा भारतीय प्रहरीसमेत किनमेलका लागि आउने गरेको ब्यापारी पंकज शर्माले बताए ।

रुपइडिहामा ब्यापार गर्नेहरूले नेपालमा सस्तो पाइने भएकोले चाउचाउ, गुट्खा, कस्मेटिकका सामान, सावुन, सेम्पु, लाइट, झोला, छाता र जिन्स पाइन्ट लगायतका सामान किनेर बिक्रीका लागि लैजाने गरेको फेन्सी पसलका ब्यापारी शर्माले बताए । भारतीय बजारमा भारतीय रुपैयाँमा किनमेल हुने भएकोले महँगो पर्छ त्यसकारण नेपाली बजारमा आउने गरेको भारतीय नागरिक सव्वीर खानले भने ।

यहाँबाट सस्तोमा खरिद गरेर रुपईडिहा लगेर महँगोमा बिक्री गर्छन । जाडो याममा कम्वल (ब्लांकेट), ज्याकेट, जुत्ता र गर्मी दिनमा चप्पल र छाता किन्न जमुनाहा बजार आउने गरेको उनले भने ।
भारतमा मादक पदार्थ जथाभावी बिक्री, वितरण र सेवन गर्न नपाइने भएकोले नेपालसँग सीमा जोडिएका भारतीयहरू मादक पदार्थ सेवन गर्न जमुनाहा र नेपालगन्ज आउने गरेको जमुनहामा होटल संचालन गर्दै आएका सन्तोष केसीले बताए ।

तपाईको प्रतिक्रिया