लक्की चौधरी
भिमाद (तनहुँ), माघ १२ गते । मिर्छुलुङ सामुदायिक होमस्टे । जहाँ हरेक घरमा बंगुर, खसी र कुखुरा नपाले जरिवाना तिर्नुपर्छ । स्थानीय उत्पादनमै आत्मनिर्भर मिर्छुलुङबासीका लागि त्यही जरिवानाले मनग्य आम्दानी गराएको छ ।
तनहुँको भिमाद नगरपालिका ५ स्थित मगरगाउँमा स्थापना गरिएको होमस्टे अहिले स्थानीयको घरगुजाराको राम्रो सहारा बनेको छ । सो नगरपालिकाको कुल जनसंख्या ३७ हजार ५०० छ । जसमध्ये २१ हजार जनसंख्या मगरको मात्र छ । ९० प्रतिशत मगरको घर रहेको मिर्छुलुङ होमस्टेमा १० प्रतिशत दलित समुदायको बसोबास छ ।
एकसय १५ घरधुरी रहेको मिर्छुलुङको १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । एक रातमा करिब ३५ जनालाई बासको क्षमता रहेको होमस्टेका अध्यक्ष नरेन्द्र थापामगरले बताउनुभयो । होमष्टेका लागि एक वर्षकालागि दुईजना भान्से नियुक्त गरिन्छ । भान्से नियुक्त गर्दा एकजना मगर र एकजना दलितबाट गरेर समावेशी चरित्रको बनाउने गरिएको अध्यक्ष थापामगरले बताउनुभयो ।
मिर्छुलुङ मगर गाउँको हरेक घरमा मासु खपतका लागि सुंगुर, बंगुर, खसी, लोकल कुखुरा पाल्नैपर्ने नियम बनाइएको छ । नपाले एक हजारदेखि १५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने अध्यक्ष थापामगरले बताउनुभयो । तर कारवाही गर्नुअघि एक घरलाई करिब ६ महिनाको समयावधि दिने गरिन्छ । सो अवधिमा पनि नपाले तोकिएको जरिवाना गरिनेगरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । उहाँकाअनुसार केही घरलाई मात्र हालसम्म जरिवाना तिर्नुपरेको छ ।
अध्यक्ष थापामगरका अनुसार गाउँमा पालिएका खसी, बंगुर, सुंगुर र लोकल कुखुराको मासु सकेसम्म होमष्टेमै खपत गरिन्छ । होमस्टेमा खपत नभएर बढी भएको मात्र बाहिर विक्री गरिन्छ । बाहिर विक्रीगर्दा होमष्टेको दररेट भन्दा महंगोमा खपत हुनेगर्छ । गाउँको नियमले स्थानीयहरु जाँगरिला भएको र त्यसैबाट राम्रो आयआर्जन पनि भइरहेको अध्यक्ष थापामगरको बुझाई छ ।
होमस्टे सञ्चालन अघि बालबालिकालाई विद्यालय पढाउने र घरको गर्जो टार्ने आर्थिक समस्या थियो, होमस्टे सञ्चालन यता कुनै घरमा आर्थिक समस्या नपरेको अध्यक्ष थापामगरको भनाई छ । होमस्टे सञ्चालनले घरमै बसेर राम्रो आयआर्जन भएको र युवाहरुलाई गाउँमै रोजगारीको राम्रो व्यवस्था भएको उहाँले बताउनुभयो ।
मिर्छुलुङ मगर गाउँमा २०७१ बाट होमस्टे सञ्चालन गरिदैआएको छ । अध्यक्ष थापामगरले भन्नुभयो, “होमस्टे सञ्चालनपछि गाउँमा एकता कायम भएको छ, आर्थिक, सांस्कृतिक एकता मात्र होइन, राजनीतिक एकता पनि बनेको छ ।” उहाँकाअनुसार निर्वाचनमा मतदान गर्दासमेत छलफल गरेर सामुहिक निर्णय लिने गरिएको छ ।
घरमा पालिएका मासुजन्य जीव जनावरको विक्रीमा घरमालिकले टाउको दुखाउनु पर्दैन, सबै विक्री वितरणको व्यवस्था भान्सेले नै मिलाउनेगर्छ सांस्कृतिक समूहका एक सदस्य मनिलाल थापामगरले भन्नुभयो । यहाँसम्मकी मासुको दररेट निर्धारण गर्ने जिम्मा समेत भान्सेलाई दिइएको छ । होमस्टेकालागि मासु काट्दा आलोपालो चक्रीय प्रणाली कायम गरिएको थापामगरले बताउनुभयो ।
उहाँकाअनुसार होमष्टेमा आउनेहरुको स्वागतका लागि विभिन्न सांस्कृतिक समुह बनाइएको छ । विशेषगरी पाहुनाको स्वागत र मनोरञ्जनका लागि रातीको खानापछि दुई घण्टा समय छुट्याइएको छ । होमष्टेमा मगरको मौलिक सांस्कृतिक नृत्य कौह्रा, झ्याउरे, नचरी, सालैजो लगायतको नृत्य प्रस्तुत गर्ने गरिन्छ ।
भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापामगरका अनुसार मिर्छुलुङ सामुदायिक होमस्टे सञ्चालनले मगर समुदायको जीवन नै बदलिएको छ । मिर्छुलुङलाई पर्यटकीय नगरी बनाउनेगरी बजेट विनियोजन गरिएको पनि उहाँले बताउनुभयो । यस आर्थिक वर्षमा होमष्टेका लागि नपाको तर्फबाट पाँच लाख रुपिया विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
होमष्टे सञ्चालनले स्थानीय युवालाई स्वरोजगार बनाएको, गाउँलेहरुको आर्थिक हैसियतदेखि भावनात्मक एकता कायम गरेको मेयर थापामगरले दावी गर्नुभयो । प्राकृतिक छटाले भरिएको होमष्टेको आकर्षण भएको बताउँदै उहाँले आदिबासी मगर समुदायको सांस्कृतिक नाचगान र परिकारले होमस्टेमा छुट्टै पहिचान दिएको बताउनुभयो ।
तनहुँको भिमाद बजारबाट चार किलोमिटर दूरीमा रहेको मिर्छुलुङ सामुदायिक होमस्टेका लागि बाटोको राम्रो सुविधा रहेकाले जुनसुकै सवारी साधनले सजिलै पुग्न सकिन्छ । होमस्टेमा आउने पाहुनाको स्वागतका लागि मकै, फापर, कोदो, हरिया सागसब्जी, फलफूल सबै स्थानीयरुपमै उत्पादन गरिने गरिएको छ । सकेसम्म गाउँ बाहिरबाट सामानहरु खरिद नगर्ने नियम सो मगर गाउँले बनाएको स्थानीय पत्रकार प्रताप रानामगरले बताउनुभयो ।
होमस्टेमा आउने आगन्तुक पाहुनाहरुका लागि विशेषगरी खाजामा मकैको भुजा, भुजासँग गुन्द्रुक र अचार, फापरको रोटी, ढींडो, लोकल कुखुरा, सुंगुर, बंगुर, बन्देल, खसीको मासु खान पाइन्छ । होमस्टेमा आन्तरिक र बाह्य दुवै पर्यटक आउने गरेको होमस्टेका अध्यक्ष नरेन्द्र थापामगरले बताउनुभयो । होमष्टेमा आउने आगन्तुकलाई एक रातको आठसय शुल्क तोकिएको छ । त्यसमा साँझको खाजा, खाना, विहानको खाजा र खाना तथा साँझको सांस्कृतिक मनोरन्जनको प्याकेज छ ।