टीकापुर राजबन्दीको परिवारलाई थारु महिला उत्थान समाजको सहयोग


धनगढी, माघ १३ गते । थारु महिला उत्थान समाज सुनसरीले टीकापुर घटनाको आरोपमा थुनामा रहेका परिवारका बालबालिकाको पठन पाठनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

राजबन्दीका परिवारका बालबालिकाहरुको पठन पाठनमा आवश्यक सहयोग पुगोस भनेर ३० हजार रुपियाँ नगद सहयोग उत्थान समाजले आइतबार धनगढीमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । थारु कल्याणकारिणीसभा (थाकस) कैलालीका उपसभापति माधव थारुलाई उत्थान समाजका अध्यक्षसहितका सदस्यहरु धनगढी पुगेर सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

समाजकी अध्यक्ष सीता चौधरीको नेतृत्वमा धनगढी पुगेको उत्थान समाजले सुदूर पूर्वबाट गएर सुदूरपश्चिमका पीडित थारुका बालबालिकाको थोरै भएपनि पठन पाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ । समाजकी अध्यक्ष चौधरीले पूर्वदेखि पश्चिमसम्मका थारु समुदायको भावनात्मक एकता कायम गर्न आफूहरु कैलालीको धनगढी पुगेको बताउनुभयो । सहयोग रकम राजबन्दीका बालबालिकालाई पुर्याई दिन अध्यक्ष चौधरीले थाकस कैलालीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरीले आफूहरूले हकअधिकार स्थापनाको लागि शान्तिपूर्ण आन्दोलन गरेको बताउनुभयो । तर राज्य पहिचानवादी पक्षधरलाई अधिकार नदिने रणनीतिमा लागेर राज्यकै डिजाइनबाट घटना घटाएको आरोप उहाँले लगाउनुभयो । अधिकार प्राप्तिको आन्दोलन जारी रहेको समेत उहाँले बताउनुभयो ।

नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारुले सांसद रेशम चौधरीलाई अदालतले दोषी प्रमाणित गरीनसकेकाले शपथ मात्रै होइन, रिहाइ समेत गर्नुपर्ने बताउनुभयो । टीकापुर घटनाको आरोपमा थुनामा रहेका निर्दोष थारुलाई उचित छानविन गरी सरकारले चाँडै रिहाई गर्न उहाँले माग गर्नुभयो ।

सो अवसरमा महिला उत्थानका अध्यक्षसहित कोषाध्यक्ष आशा चौधरी, सचिव रन्जिता चौधरी, सदस्य गयावती चौधरी, बुधनी चौधरी, सल्लाहकार हर्षलाल चौधरी, मनिषा चौधरी र रामकुमारी चौधरीको सहभागिता थियो । धनगढी ५, जाइँ गाउँको बरघर कुलवीर चौधरीको निवासमा भएको कार्यक्रममा थाकस कैलालीका कार्यबाहक सभापति माधव थारुले प्राप्त भएको सहयोग सम्बन्धितका बालबालिकाको पढाई खर्चमा खर्च गरिने प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा थारु कल्याणकारिणीसभा (थाकस) कैलालीले थारु महिला उत्थान समाज झुम्का सुनसरीलाई सहयोगकालागि हार्दिक धन्यवाद प्रदान गरेको छ । सहयोगले राजबन्दीका परिवारका बालबालिकाको पठन पाठनमा ठूलो गुन लाग्ने विश्वास थाकस कैलालीले गरेको छ ।

तपाईको प्रतिक्रिया