दुई जना आदिबासी जनजाति पत्रकार चाम्लिङ राई र मिलन तमु सम्मानित


काठमाडौं, माघ १५ गते । पत्रकारिता पेशामा क्रियाशील दुई आदिबासी जनजाति पत्रकार मंगलबार एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दुवै पत्रकारलाई नगदसहित सम्मानित गर्नुभयो ।

गोरखापत्र दैनिकका सहसम्पादक राजेश जाम्लिङ राईलाई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (युके) शाखाद्वारा स्थापित फोनिज युके २०१८ द्वारा सम्मानित गरियो । नगद ३० हजार तथा सम्मानपत्रले मन्त्री पुनले पत्रकार चाम्लिङ राईलाई सम्मानित गर्नुभयो । फोनिज युकेका सल्लाहकार तथा पूर्व बेलायती सेनाका मेजर स्वनाम शेर्पाले सो पुरस्कारको स्थापना गर्नुभएको हो ।

त्यस्तै, तमु सञ्चारकर्मी संघले स्थापना गरेको तमु आदिकवी हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट बेलायतमा कार्यरत फोटो पत्रकार मिलन तमुलाई सम्मानित गरिएको छ । सो पुरस्कारको राशी नगद १० हजार एक र सम्मानपत्र रहेको छ । पत्रकार तमु बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकमा आवद्ध हुनुहुन्छ ।

सम्मान कार्यक्रममा मन्त्री पुनले पुरस्कृत दुवै पत्रकारलाई बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । समाजले चिनेपछि दायित्व र जिम्मेवारी पनि बढ्ने हुनाले पुरस्कृत दुवै पत्रकारको जिम्मेवारी थप बढेको उहाँले बताउनुभयो । सो अवसरमा उहाँले राज्यको मुलधार समावेशीता, लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन रहेको बताउँदै पत्रकारलाई त्यसमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मूलधारको जिम्मेवारीबाट अव कोही भाग्न नसक्ने भन्दै उहाँले राजनीतिक स्थायित्वका लागि क्रान्ति सफल भएकाले अव आर्थिक समृद्धिकालागि सामुहिक क्रान्तिको खाँचो रहेको बताउनुभयो । अवको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गरेर मुलुकलाई समृद्ध गराउने लक्ष्यसाथ सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । त्यसकालागि करिब ३० खर्व रुपियाँको खाँचो पर्ने हुनाले सबैको सहयोग अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो ।

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले मुलधारका सञ्चारमाध्यम अझै समावेशिता र पहिचानमा उदासिन रहेकाले त्यसकानिम्ति आदिबासी जनजाति पत्रकारले सामुहिक संघर्ष गर्नुपरेको बताउनुभयो । परिवर्तनलाई अब कसैले रोक्न नसक्ने भन्दै उहाँले राज्यको सबै अङ्गमा समानुपातिक समावेशीताको अनिवार्यता रहेको बताउनुभयो । आदिबासी जनजाति पत्रकारले सञ्चालन गरेको मिडियाहरु संकटमा रहेकाले राज्यले समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा फोनिज युकेका सल्लाहकार स्वनाम शेर्पा, सम्मानित व्यक्तितव राजेश चाम्लिङ राई, मिलन तमुले पुरस्कारले थप जिम्मेवारी बढाएको र सोहीअनुरुप भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुरस्कृत गर्ने संगठनप्रति सम्मानित दुवैले धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया