मोर्चासँग निर्णायक वार्ता गर्ने प्रमुख तीन दलको साझा अवधारणा


Dal1

काठमाडौं, १७ गते । प्रमुख तीन दलका नेताहरुले मधेसी मोर्चासँग छलफल गर्ने साझा एजेण्डामा सहमति गरेका छन् । तर मोर्चासँगको वार्ताबाट मात्र त्यो सहमतिको औचित्य पुष्टिहुने भनाई नेताहरुको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान भएको प्रमुख तीन दलको बैठकमा त्यस्तो सहमति भएको नेताहरुको दावी छ । मुलुकको विद्यमान समस्या समाधानको विकल्प नरहेको र प्रमुख दलका हिसावले त्यसको समाधानमा तीनै दलले जिम्मेवारी लिने विषयमा सहमति बनेको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो ।
मधेसी मोर्चा सम्बद्ध दलका नेताहरु आफ्नो आन्तरिक कार्यक्रमका लागि मधेसमै रहेकाले प्रमुख तीन दलका नेताहरुमात्र बैठकमा सहभागी हुनुभएको थियो । साझा धारणाका लागि गम्भीरतापूर्वक छलफल भई समस्या समाधानमा तीन दलका नेताहरु एक ठाउँमा उभिएको उहाँहरुको दावी छ । मधेसी मोर्चाका शीर्ष नेताहरु उपत्यका आउने वित्तिकै सम्भवतः शुक्रबारसम्म मोर्चासँग वार्ता गर्ने तयारी तीन दलका नेताहरुको छ ।
बैठकबारे जानकारी दिनुहुँदै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्य दिनको तुलनामा आज प्रमुख तीनदलको बैठक प्रगतिशील दिशामा गएको बताउनुभयो । “सदाकोभन्दा एक दुई स्टेप अगाडि बढेर बैठक सकारात्मक भएको छ, तीनदलको साझा धारणा बनेको छ” भन्नुहुँदै महामन्त्री सिटौलाले वार्ताबाटै समस्याको समाधान गर्नेमा तीनै दलको निस्कर्ष रहेको जानकारी दिनुभयो ।
“प्रमुख तीन दलबीचको सहमति र साझा धारणाले मात्रै समस्याको समाधानको औचित्य पुष्टि हुन सक्दैन, मधेसी मोर्चासँगको चाँडै छलफल गरेपछि त्यसको परिणाम आउने नआउने टुंगो लाग्छ” भन्नुहुँदै महामन्त्री सिटौलाले मधेसी मोर्चालाई अलग राखेर देशले निकास पाउन नसक्ने बताउनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बैठकमा देशको समग्र समस्याका विषयमा गम्भीर छलफल र विश्लेषण भएको जानकारी दिनुभयो । आन्दोलनरत दल मधेसी मोर्चासँग अन्तिम पटक वार्ता गर्ने र निस्कर्ष निकालेर देशलाई निकास दिने निर्णय बैठकमा भएको जानकारी दिनुभयो ।
“अहिलेको अवस्थाबाट छिटोभन्दा छिटो देशलाई बाहिर ल्याउने विषयमा सहमतिका साथ एकताबद्ध भएर अघि बढ्ने निस्कर्षमा पुगेका छौं” भन्नुहुँदै मन्त्री रावलले अन्तिम टुंगोका लागि मोर्चासम्बद्ध दलसँग चाँडै वार्ता गर्ने बताउनुभयो । मोर्चासँग हुने सहमतिलाई कार्यान्वयन गर्ने र देशलाई अगाडि बढाउने विषयमा बैठकमा छलफल भएका मन्त्री रावलले जानकारी दिनुभयो । अप्ठेरो अवस्थालाई समाप्त गरी, संविधान कार्यान्वयनको दिशामा अघि बढ्नेमा तीन दलका नेता एकमत भएको उहाँले जानकारी दिनुभयो ।
एमाओवादीका उपाध्यक्ष नाराकायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विद्यमान समस्या समाधानको ठोस आधार तीन दलको बैठकमा तय भएको बताउनुभयो । प्रमुख तीन दलबीच भएको छलफलकै आधारमा मोर्चा सम्बद्ध दलका नेताहरुसँग ढिलो नगरीकन चाँडै वार्ता गरी निस्कर्षमा पुग्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
विद्यमान समस्या समाधानका लागि वार्ता र संवाद बाहेक अर्को विकल्प नरहेकाले मोर्चा सम्बद्ध दलसँग गम्भीरतापूर्वक छलफल गर्ने र प्रमुख तीन दलको तर्फबाट साझा अवधारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा एमालेका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, कांग्रेसका सभापति सुशील कोइराला, रामचन्द्र पौडेल, सिटौला, प्रकाशमान सिंह लगायतको सहभागिता थियो । त्यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ लगायत बैठकमा सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया