विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकलाई कारवाही हुन्छः मेयर चौधरी


कारी महतो
खैरहनी, माघ २२ गते । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पञ्च तत्वले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताउनुभएको छ ।

नगरप्रमुख चौधरीले विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति र नगरपालिकालाई पञ्च तत्वको रुपमा परिभाषित गर्नुभयो । नगरप्रमुख चौधरीले खैरहनी नगरपालिकामा रहेका सबै विद्यालयको शैक्षिक र भौतिक पक्षको विकास गर्नका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।

खैरहनी नगरपालिका भित्रका सबै विद्यालयका शिक्षकहरुले विद्यार्थीका शैक्षिक उपलब्धिका लागि विशेष जोड दिन उहाँले आग्रह गर्नुभयो । विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभयो । विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया समेत अगाडि बढाएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

कंकाली माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको पाँचौ दिनमा प्रमुख अतिथिका रुपमा आमन्त्रित नगरप्रमुख चौधरीले खैरहनी नगरपालिकाले कंकाली माविमा हाल बनिरहेको भवनको लागि १० लाख र भवनमाथि ट्रष्ट बनाउनका लागि २० लाख बजेट चालूवर्षमै विनियोजन गरेको समेत जानकारी गराउनुभयो ।

विद्यालयले स्वर्णमहोत्सवको अवसरमा आयोजना गरेको श्रोतकेन्द्रस्तरीय भलिबल प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा डेजी आवासीय मावि प्रथम र कंकाली मावि द्वितीय भएका छन् ।

तपाईको प्रतिक्रिया