थारु युवा सभाको नेतृत्व विकास तालिम सम्पन्न, तालिम सफल भएको विश्वास


काठमाडौं, माघ २६ गते । थारु कल्याणकारिणीसभा (थाकस) को भातृ संगठन थारु युवा सभाले तीन दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । माघ २४ देखि २६ सम्म चलेको सो तालिमको शनिबार समापन भएको छ । तालिम सफल भएको आयोजकले बताएको छ ।

पश्चिमको कञ्चनपुरदेखि पूर्वको मोरङसम्मका करिब ५० जना थारु युवाहरुको सक्रिय सहभागिता रहेको आयोजक सभाका अध्यक्ष कानूनलाल चौधरीले बताउनुभयो । थारु युवाहरुको समयानुकुल नेतृत्व क्षमतामा बृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

तालिममा थारु अगुवाहरु भुलाई चौधरी, लक्की चौधरी, सियाराम चौधरी, प्रशिक्षक विदुरप्रसाद कायस्थ, महेश गुरागाइँ, बुद्धसेन चौधरीले प्रशिक्षण दिनुभएको थियो । तालिममा नेतृत्व विकासको सिद्धान्त, शैली र त्यसको स्वरुप, थारु राजनीति र वर्तमान अवस्था, मानवाधिकार र थारु सरोकार, प्रस्तावित कानून, संविधानमा व्यवस्था गरिएको थारु मुद्दा, थारु भाषा साहित्य तथा संस्कृति लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले बताएको छ ।

तालिमको समापनमा थाकसका महामन्त्री प्रेमीलाल चौधरी, पूर्व सांसद रुक्मिणी चौधरी, लोकतान्त्रिक फोरमका अध्यक्ष भानुराम थारु, थारु आयोगका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौधरी, प्रशिक्षक विदुरप्रसाद कायस्त, लक्की चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी, प्रशिक्षार्थी एलिसा चौधरी र समिर चौधरीले तालिमको महत्व र थारु समुदायको मुद्दाका बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया