लक्की चौधरी
पोखरा, फागुन १० गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको संरचनालाई थप समावेशी बनाउने प्रस्ताव पारित गर्दै महासंघको विधान सम्मेलन शुक्रबार यहाँ सम्पन्न भएको छ ।
फागुन ९ र १० गते पोखराको सभागृहमा भएको महासंघको साधारणसभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने नयाँ प्रस्ताव पनि पारित भएको छ । सो प्रस्ताव पारित भएपछि अव महासंघका सदस्य रहेका सबैले निर्वाचनमा मतदान गर्ने मौका पाउने छन् । यसअघिसम्म सभासद सदस्यले मात्र मतदान गर्ने गर्दथे ।
त्यस्तै, साधारणसभाले महासंघको उपाध्यक्षमा एकजना महिला, सदस्यमा एकजना थप महिला कोटा थप गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसअघि उपाध्यक्ष १ (खुला), उपाध्यक्ष १ (समावेशी) रहने व्यवस्था थियो । अब महिलासहित तीन उपाध्यक्ष कायम हुनेछन् ।
सोहीअनुसार संविधानले व्यवस्था गरेको क्लष्टर अनुसार महासंघको सदस्यमा कोटा सुरक्षित गर्ने आश्वासन पनि महासंघ नेतृत्वले दिएको छ । भेलामा लक्की चौधरीसहित फोनिजका पदाधिकारी तथा सदस्यहरुले महासंघको विधानलाई पूर्ण समावेशी बनाउनुपर्ने माग गरेपछि महासंघले त्यसको तयारीका लागि साधारणसभाबाटै पाँच सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीमा महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्षहरु सुरेश आचार्य, शिव गाउँले, तारानाथ दाहाल र डा. महेन्द्र विष्ट सदस्य रहनुभएको छ । सो कमिटीले संविधानमा भएको क्लष्टर अनुरुपको व्यवस्थाको अध्ययन गरी महासंघको विधानलाई समावेशी बनाउने प्रस्ताव तयार गर्ने बताइएको छ ।
फोनिजका उपाध्यक्ष लक्की चौधरीले भेलामा महासंघको पदाधिकारी र सदस्यमा थारु, मुस्लिम, अपाङ्गता भएका पत्रकार, भौगोलिक विकट्ता क्षेत्रबाट पदाधिकारी र सदस्यमा कोटा सुरक्षित गर्न माग गर्नुभएको थियो । महासंघको विधानले ६ जना सचिव रहने व्यवस्था गरेको छ । त्यसमा महिला १, खुला १, आदिबासी जनजाति १, मधेसी १, दलित १, एशोसिएट १ जना सचिव रहने प्रावधान छ ।
छ जना सचिव कायम गरिरहँदा संविधानले छुटयाएको क्लष्टरका आधारमा थारु, मुस्लिमलाई पनि सचिव कोटा छुट्याउनु पर्ने माग चौधरीको थियो । सो मागलाई भेलाले तत्काल सम्बोधन नगरे पनि सोबारेमा कमिटी गठन गर्ने प्रस्ताव पारित गरेको हो । थारु पत्रकारको दवाव नपुगेका कारण महासंघको विधानमा अहिलेसम्म कोटा छुट्याइएको छैन ।
भेलाले महासंघको सर्वोच्च अङ्गकोरुपमा रहनेगरी राष्ट्रिय परिषद गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । जसमा महासंघका पदाधिकारी तथा सदस्य, पूर्व पदाधिकारी तथा सदस्यहरु, महिला अनिवार्य सहित ५० प्रतिशत समावेशी (महिला, आदिबासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका, अल्पसंख्यक) मध्येबाट परिषदको सदस्य रहने व्यवस्था पारित विधान मस्यौदामा गरिएको छ ।
महासंघमा महिला उपाध्यक्ष र एक सदस्य थप गर्ने निर्णयसँगै अव महासंघको केन्द्रीय कमिटी ४९ सदस्यीय रहने छ । यसअघि ४७ सदस्यीय महासंघको केन्द्रीय कमिटी रहने विधानले व्यवस्था गरेको थियो । महासंघमा हाल १३ हजार १२९ सदस्य रहेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएपछि सदस्य सदस्य बढ्ने देखिएको छ ।
त्यस्तै, भेलाले सरकारी सञ्चारमाध्यममा राष्ट्रिय भाषाका कार्यक्रम सञ्चालन गर्न कर्मचारी छनौट गर्दा मातृभाषामै प्रश्नपत्र र उत्तर लेख्नुपर्ने प्रस्तावलाई पनि पारित गरेको छ । फोनिजको सो मागलाई महासंघले सकारात्मकरुपमा लिंदै विशेष प्रस्ताव मार्फत पारित गरेको हो । त्यसको कार्यान्वयनका लागि थप दवावको खाँचो पर्ने देखिएको छ ।