काठमाडौं, फागुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ ।
टुँडीखेलमा शुक्रबार विहान ८ देखि ११ बजेसम्म गरिएको श्रद्धाञ्जलि सभा कार्यक्रममा प्रधानमन्त्री ओलीले मृतक सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । उहाँले अन्य मृतकहरुको शबमा फूलमाला अपर्ण गरेर श्रद्धान्जलि व्यक्त गर्नुभयो । गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकप्टर दुर्घटना हुँँदा सवार सबैको निधन भएको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टी (नकेपा) का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।
मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, कर्मचारी, सुरक्षा निकाय, मृतकका आफन्त र सर्वसाधाारणले श्रद्धान्जलि अर्पण गरेका थिए ।