यस्तो थियो पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्तिम सम्बोधन


लक्की चौधरी
काठमाडौं, फागुन १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधबार दिउँसो हेलीकप्टर दुर्घटनामा पर्नु अगावै तेह्रथुमको चुहानडाँडामा सम्बोधन गर्नुभएको थियो । त्यही सम्बोधन नै उहाँको जीवनको अन्तिम सम्बोधन हुनपुग्यो ।

विमानस्थलको अध्ययन गर्न एक टोलीसहित काठमाडौंबाट त्यहाँ पुग्नुभएका मन्त्री अधिकारी चढेको हेलिकप्टर खराव मौसमका कारण दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान रहेको सो ठाउँमा विमान उडाउने प्रधानमन्त्रीको सन्देशसहित आफू त्यहाँ पुगेको मन्त्री अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनको पूर्णपाठ–
एयरपोर्ट बन्ने सन्दर्भ चलिरहेको छ तर एयरपोर्ट बनिरहेको छैन । अहिले हामी यहाँ एयरपोर्टको सन्दर्भ चलाउन हैन, एयरपोर्ट बनाउने हिसावबाट यहाँको अवस्था बुझ्न आएका छौं । मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, इष्टिेमेट, डिजाइन सबै छ । पहिला २९ करोड भनिए पनि अहिलेको इष्टिमेट ८७ करोड रुपियाँ खर्च हुने इष्टिमेट छ, निर्माणका लागि । यतिबेला म दुईवटा सन्दर्भमात्र बताउन चाहन्छुँ ।

एउटा, वर्तमान सरकार गठन भइसकेपछि मुलुकको अर्थिक विकास र समृद्धिको यात्रालाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ । हामी उहाँको नेतृत्वमा काम गरिरहेका छौं । यो ठाउँ उहाँको जन्मस्थल भएका कारणले होइन, यो ठाउँ उपयुक्त ठाउँ भएकाले एयरपोर्ट बनाउने सन्दर्भमा छलफल ग¥यौंं । प्रधानमन्त्रीले भन्नुभयो, “यसको सन्दर्भमा के कस्तो खर्च लाग्छ, सबै कुराको विस्तृत अध्ययन गर्नुस् ।” हामीले अध्ययन गरेर नक्सा र डिजाइनसहित आएका छौं । “अरु होइन, पर्यटनमन्त्री आफै गएर चुहानडाँडा हेरेर आउनुस” भन्नुभयो, त्यसपछि आज हामी यो ठाउँको स्थलगत अध्ययन गर्न आएका छौं । स्थलगत अध्ययन गर्दा यहाँ एयरपोर्ट बनाउनका लागि उपयुक्त ठाउँ छ, यहाँ कुनै कुराले छेक्दैन । त्यस्तो ठाउँ भएकाले सबै हिसावले उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौं । यसअर्थमा म तपाईहरुलाई भन्न चाहन्छुँ, प्रधानमन्त्रीज्यूको सन्देश पनि भन्न चाहन्छुँ । कि, सरकार यो ठाउँमा एयरपोर्ट बनाउनका लागि प्रतिवद्ध छ । त्यसकारणले हामी यसलाई अगाडि बढाउनका लागि तपाईहरुको बीचमा आएका छौं । तपाईहरुको साथ छ, हामी सबै मिलेर यो कामलाई अगाडि बढाउने छौं ।

दोस्रो, पानी परेको छ, मौसम खराव भएको छ । हामीलाई फर्कनु पर्ने छ । सरकार अहिले आफ्ना कामहरुलाई अघि बढाइरहेको छ । तर सधैं अस्थिरताबाट फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु, मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि जान नदिनेहरु आत्तिएका छन् । ‘केही भएन केही भएन’ भनेर कराई रहेका छन् । तर म भन्न चाहन्छुँ । अहिले वर्तमान सरकार निर्माण भएपछि मुलुकको विकास र समृद्धिको यात्रामा उलेख्य काम भएका छन् । स्थनीय, प्रदेश र संघीय सरकारको समन्वय, तीनवटै सरकारको संगठनात्मक व्यवस्थापन, तीनवटै सरकारको कानूनी व्यवस्थाहरु सबै बनाएर अघि बढेका छौं । तीनै सरकारले राष्ट्र र जनताको पक्षमा काम गरिरहेका छन् । परिणामहरु देखिइरहेका छन् । अझ हामी प्रभावकारी ढंगले काम गर्नुपर्ने छ । काम भएको छैन, केही भएको छैन भनेर हल्ला गर्नेहरु छन् । म यत्ति भन्न चाहन्छु, उनीहरु किन हल्ला गरिरहेका छन् भने, यो सरकारले काम गरिरहेको छ । त्यसकारणले काम गरिरहेको छैन भनेर अफवाह फैलाउनका लाागि हल्ला गरिरहेका छन् । त्यसकारण म भन्न चाहन्छु, यो ठाउँमा मध्येपहाडी राजमार्गको प्रभावकारी ढंगले काम भइरहेको छ । हामी यहाँ एयरपोर्ट बनाउँदैछौं । देशभरका एयरपोर्टहरुलाई सुधार गर्दैछौं । सँगसँगै यो देशका ठूलठूला पूर्वाधारका चाहे जलविद्युत होस्, चाहे रोजगारी होस्, चाहे आर्थिक विकासमा सुधार होस्, उत्पादन बढाउने काम होस् । सबै क्षेत्रमा काम भइरहेको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम भइरहेको छ ।

यस हिसावबाट स्थानीय सरकारले पनि प्रभावकारी काम गरिरहेको छ, प्रदेश सरकारले गरिरहेको छ । संघीय सरकारले पनि गरिरहेको छ । अव मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । कसैका गफले रोक्न सक्दैन । कसैका अवरोधले रोक्न सक्दैन । यो देशमा हामी अगाडि बढ्छौं । यो सरकारको सन्देश हो, यो सरकारको प्रतिवद्धता हो । म आज यत्ति भन्न चाहन्छुँ ।

तपाईको प्रतिक्रिया