काठमाडौं, फागुन २९ गते । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको हो ।
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । राजपाको अवरोधपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा सभामुख महराले सरकारलाई यथासिघ्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभएको हो।
२०७२ साल भदौ ७ मा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो । आयोगले एक वर्षअघि नै प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।
प्रतिनिधिसभाको अघिल्लो बैठकमा पनि राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको थियो । उक्त बैठकमा सभामुख महराले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । । गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सरकारले अध्ययन गरिरहेको र आवश्यक परे सार्वजनिक गर्ने जवाफ दिनुभएको थियो ।
राजपाले बुधबारको बैठकमा पनि सोही विषयमा संसद अवरुद्ध गर्यो । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारले आवश्यक परे सार्वजनिक गर्नेजस्तो स्वेच्छाचारी जवाफ देखिएको भन्दै विरोध जनाउनुभयो । सभामुख महराको रुलिङपछि संसद बैठक सुचारु भएको थियो ।