रेशम चौधरीलाई सजाय र सिके राउतसँगको सहमति उचित छः सभापति देउवा


विराटनगर, फागुन २९ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टीकापुर घटनामा मुख्य अभियुक्त ठहर भएका रेशम चौधरीलाई तोकिएको सजायलाई सही भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै देउवाले सो कुरा बताउनुभएको हो । सार्वजनिक (निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले विप्लब माअ‍ेवादीलाई लगाएको प्रतिबन्ध पनि सही भएको उहाँले बताउनुभयो ।  सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई मंगलबारको मन्त्री परिष्दको बैठकबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउनुभयो । ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने पनि हउाँले तर्क गर्नुभयो ।

देउवाले अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजायबाट निहत्था मारिएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन बोलाइ बालकसहितको हत्या गर्नु अपराधीक क्रियाकलाप भएको टिप्पणी गर्नुभयो ।

नेपाल एयरलाइन्सले खरिद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय अभावले छलफल गर्न नसेकको पनि देउवाले जवाफ बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उहाले चर्चा गर्नुभयो ।

तपाईको प्रतिक्रिया