राजनीतिक समिति मार्फत् सिमाङ्कन टुंगो लगाउने एमालेको निर्णय


UML logo JhalnathNepal    Subash1        Bhim

काठमाडौं, मंसिर १८ गते । नेकपा (एमाले) ले आन्दोलनरत मधेसी मोर्चाले उठाएको सिमाङ्कनको समस्या समाधानका लागि सर्वदलीय राजनीति समिति निर्माण गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार दिउँसो बसेको बैठकमा त्यस्तो निर्णय गर्दै एमालेले यसअघिको नेपाली कांग्रेस नेतृत्वको सरकारले दर्तागरेको संशोधन विधेयक प्रक्रियालाई अघि बढाउने निर्णय पनि गरेको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा विद्यमान समस्या समाधान, तराई मधेसमा देखिएको आन्दोलन, नाकाबन्दीका विषय र समस्या समाधानको उपायबारेमा गम्भीर छलफल भएको पार्टी सचिव समेत रहनुभएका भट्टराईले बताउनुभयो । नाकाबन्दीले दैनिक जीवनमा परेको कठिनाई र समस्यालाई सहज बनाउन वैकल्पिक उपाय अवलम्बन गर्न बैठकले सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा, नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख, सचिव भीम आचार्यलाई पूर्वाञ्चल संयोजक, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्दै पार्टीको स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने निर्णय गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

इन्धन लगायतको समस्या तत्काल समाधानका लागि छिमेकी मित्रराष्ट्रहरु लगायत अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी कुटनीतिक पहल लिन पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

सोहीअनुसार बैठकले संविधान कार्यान्वयन तथा संविधान निर्माण पश्चात् उत्पन्न परिस्थितिका सन्दर्भमा पार्टीको धारणा स्पष्ट गर्न मंसिर २१ र २२ गते चित्तवनमा पार्टीको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया