सुनिल चौधरी
झुम्का, फाल्गुन २९ गते । थारु परिकार प्रवद्र्धनका लागि झुम्कामा घोंङघी बगिया थारु भिलेज बुधबारदेखि सञ्चालनमा आएको छ । भिलेजको उदघाटन रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले गर्नुभयो ।
थारु परिकारको स्वाद लिन चाहनेहरुका लागि प्रत्येक दिन थारु भिलेजमा परिकार उपलब्ध गराईने प्रोप्राईटर सत्यनारायण चौधरीले बताउनुभयो । स्थानिय उत्पादनबाट उब्जीएको बस्तुबाट आर्गानिक रुपमा परिकार बनाईने उहाँले बताउनुभयो । भिलेजमा घोंङ्घी,बगिया, भक्का, परेवा, हास, लोकल कुखुराको मासु, सिध्रा, माछा उपलब्ध हुने सञ्चालिका सीता चौधरीले बताउनुभयो । भिलेजमा पोर्क र मटन सेकुवा समेतको ब्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।
भिलेजमा थारु समदायमा बसेर खाने चलन अनुसार ब्यवस्थापन गरिएको सञ्चालकले बताएका छन् । थारु समुदायमा खाना वा नास्ता खानेक्रम्मा पिढिया तथा पटियामा बसेर खाने परम्परा रहेको छ । सोही अनुसार भिलेजमा ब्यवस्थापन गरिएको छ । कार्यक्रम तथा बैठक, सेमिनारमा नास्ताको अर्डर गर्नुपरेमा थारु परिकार सहितको प्यकिङ्ग गर्ने ब्यवस्था समेत रहेको प्रोप्राईटर चौधरीले बताउनुभयो ।
पुर्वाञ्चलमै पहिलो पटक ब्यवस्थित रुपमा थारु परिकार भिलेज रामधुनी १ झुम्काको जितमहान चौकमा भिलेज सञ्चालनमा ल्याइएको सञ्चालकको दावी छ । झुम्काबजार देखि दुईसय मिटर पुर्व नहर बाटो हुदै जितमहान चौकको भिलेजमा पुग्न सकिन्छ ।
थारु बाहुल्य रहेको रामधुनी नगरपालीकामा परिकारहरुको पर्वद्धन गर्दै झुम्का लगायतको पर्यटन प्रवद्र्धनमा समेत भुमिका खेल्ने विश्वास भिलेजकी सञ्चालिका सीता चौधरीले बताउनुभयो ।
थारु समुदायमा रहेको कतिपय पौराणिक संस्कारलाई ब्यवसायिक्तामा परिवर्तन गर्नसके आत्मनिर्भर हुनसक्ने बिचार उहाँले व्यक्त गर्नुभयो । भिलेजमा परिकार लगायत ढाकी, मना, कोहबर, पटियालाई मायाको चिन्ह बनाएर ब्यवसायीक गर्न सकिने उहाँले बताउनुभयो ।
भिलेज सञ्चालनले थारु परिकार बनाउने स्थानिहरु रोजगार समेत पाउने भएका छन् । सञ्चालिका चौधरी थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष समेत हुनुहुन्छ । उहाँ नगर महिला समितिकि उपाध्यक्ष, झुम्का उधोग बाणिज्य संघकी सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ ।