जबरजस्ती रङ नदल्न आग्रह गर्दा चौधरीमाथि निर्घात कुटपिट


दाङ, चैत ७ गते । तुलसीपुर उपमहानगरपालिका वडा १८ निवासी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरीलाई दाङका एक समूहले निर्घात कुटपिट गरेको छ । होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले निर्घात कुटपिट गरेर घाइते बनाएको छ । चौधरीको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार बाँकेको नेपालगञ्ज लगिएको छ ।

घाइते चौधरीको दिदी सीता चौधरीले बहिनी शोभा चौधरीलाई १० देखि १२ जनाको युवाको समूहले बलजफती रङ दल्न थालेपछि प्रहरी जवान चौधरी छुटाउन गएको समयमा उहाँमाथि कुटपिट भएको थियो ।

‘बहिनीलाई लखेट्दै लगेको देखेपछि भाइ पनि त्यस्तो नगर्न भन्दै पछिपछि गएको थियो,’ दिदी सीताले भनिन्, ‘खोलाको पुल नजिक पुगेपछि ती युवाहरुले कुटपिट गरि पुलबाट फालिदिए ।’

प्रहरीले कुटपिटमा संलग्न एक स्थानीय युवालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमबहादुर शाहीले १८ वर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । शाहीका अनुसार कुटपिटमा संलग्न बाँकी युवाहरु फरार छन्।

तपाईको प्रतिक्रिया