थरुहट संयुक्त संघर्ष समितिले मेची–महाकाली अभियान चलाउँदै


काठमाडौं, चैत २० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले भोलि चैत २१ देखि २९ सम्म मेची–महाकाली जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । थारु समुदायको एकता कायम गर्ने उद्देश्यसाथ अभियान शुरु गर्न थालिएको समितिले जनाएको छ ।

समितिका केन्द्रीय सचिव प्रेमीलाल चौधरीकाअनुसार २१ गते मोरङ, २२ गते लहान, २३ गते सर्लाही, २४ गते बारा, २५ गते नवलपरासी (नवलपुर), २६ गते कपिलवस्तु, २७ गते बाँके, २८ गते कैलाली र २९ गते काठमाडौंमा कार्यक्रम गर्ने तय भएको छ ।

मेची–महाकाली जनजागरण, जनचेतना, जनपरिचालन अभियान नाम दिएको सो कार्यक्रमका लागि नेतृत्व गर्ने टोलीको पनि गठन गरिएको छ । मोरङ, लहान, सर्लाही, बाराको नेतृत्वका लागि कन्नुलाल चौधरी, अमिरीलाल चौधरी, रामकृष्ण चौधरी र प्रेमीलाल चौधरीले नेतृत्व गर्नुहुनेछ ।

त्यस्तै, नवलपरासी (नवलपुर) देखि काठमाडौंसम्मको रुक्मिणी चौधरी, किशोर विश्वास, चन्द्रप्रसाद चौधरी र गीता चौधरीले नेतृत्व गर्ने चौधरीले बताउनुभयो ।
त्यस्तै, थारु एकता र समन्वयकालागि ग्रीन थरुहट अभियान शुरु गर्ने निर्णय पनि समितिले गरेको छ । त्यसले थारु पहिचान र एकतामा बल पुग्ने विश्वास समितिको छ ।

त्यस्तै, बारा पर्सामा गत आइतबार गएको हावाहुरीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै समितिले सरकारसँग राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । पुनस्र्थापना तथा सहयोगका लागि थारु युवाहरुलाई त्यसतर्फ परिचालन गर्ने निर्णय पनि भएको सचिव चौधरीले बताउनुभयो ।

कार्यदल गठन
प्रमुख दलका नेताहरुसँग थारु माग मुद्दा सम्बोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा रुक्मिणी चौधरी, किशोर विश्वास र प्रेमीलाल चौधरी रहनुभएको छ । विगतमा भएको सहमति सम्झौता र नयाँ माग सम्बोधनका लागि पनि शीर्ष तहमा समन्वय गर्ने काम कार्यदलले गर्ने चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया