थरुहट आन्दोलनः घोषणाको हतारो किन ?

सीएन थारु

संसारभरी उदारलोकतन्त्रको मानक जब निर्वाचन भयो, त्यही निर्वाचन अहिले आएर लोकतन्त्रको लागि संकट ल्याएको छ । भर्खरै भारतको लोकसभाको चुनावको तापमान बढदैछ । सबै गठबन्धनको नारा आफ्नै छन् । हिन्दुत्वको आवाज किन भारतीय सुरक्षाको चासो हुन पुगे ? शायद गालिबले आफूलाई नै केन्द्रमा राखी एउटा शायरी रचना गरे—“बेबकुफों का कमी नहीं है गालिब ! ढुढों एक हजार मिलता है ।” त्यसको सान्दर्भिकता प्रष्ट भारतीय राजनीतिमा अनुवाद हुनपुग्यो । हिन्दुत्वको भारी बोकाएर उदारलोकतन्त्रप्रति दवाव सिर्जना गर्ने भारतीय जनता पार्टीको नेतृत्वमा बनेको गठबन्धनले अर्को ५ वर्षे कार्यकालको लागि सरकार चलाउने सम्भावना जिवितै छ । तर, सवाल लोकतान्त्रिक स्वतन्त्रता र न्यायको हो जुन हिन्दुत्वको अंहकार मार्फत समुन्द्रपार हुँदैछ । आन्तरिक द्वन्द्व अझ विस्तारित बन्दै समाजको प्रतिरोधी क्षमता ह्रास हुने र सरकार मनपरी गर्ने अवसर खोजी गर्न आतुर छ । यसको अर्थ जनता आर्थिक शोषणको शिकार भइरहँदा पनि कहिं कतैबाट विरोध नहुने वातावरण निर्माण गर्न उद्येलित हुने संकेत हिन्दुत्वको आडमा सम्भव बनाउन चाहेको छ । पल्टुरामहरुको पासो यसरी ईकाई तहसम्मै पुगेको मान्न सकिन्छ । त्यहाँ जनताहरु पासोबाट मुक्ति पाउने उपाय खोजी गरे पनि उनीहरु अन्ततः पासोमा पर्न बाध्य बनाइए ।

थरुहट आन्दोलनको एजेण्डाहरु अहिले नवसम्भ्रान्त थारुहरुको नाङ्गो राजनीतिक अनुवाद भएको छ । यसको अर्थ ती सम्भ्रान्त कहलिने थारुहरु आन्दोलनलाई बलियो बनाउने उपायहरु खोजी गर्दैनन् ।

स्थानीय राजनीतिमा दुरगामी प्रभाव पार्ने पल्टुरामहरुको पासो नेपाली राजनीतिमा समेत देखा परे । स्वतन्त्र मधेसको नारा प्रमुखताका साथ उठान गर्ने काम अगाडि बढाए पनि त्यसको वैधताको सवाल सम्बोधन कसरी हुने हो भन्ने प्रश्नको कुनै जवाफ नखोजी भक्तजन निर्माणलाई योजनावद्ध अगाडि बढाए । पृथकतावादी आन्दोलनको नाममा मधेसका कतिपय युवाहरुलाई गुमराहमा राखेर उनीहरुको श्रृजनात्मक तागतलाई वर्षौं सम्म निस्तेज पार्ने काम भएको छ । यथार्थ के हो भने पल्टुरामको पासोमाा लोकतान्त्रिक स्वतन्त्रता र न्याय खोजी गर्ने जमातको पनि दुर्दशा हुनेवाला छ । किनकी कार्यनीतिक चाल मात्रै चलेर लक्ष्य प्र्राप्त गर्न सकेको इतिहास छैन । अर्कोतिर धर्मनिरपेक्षताको विरोध गर्ने संविधान निर्माताहरु पल्टुरामको पासो थाप्न थालेका छन् । यतिखेर बिना मौसमको बाजा बजाउँदै शक्ति आर्जन गर्ने दाऊ खोजी गर्नुपर्ने स्थितिमा उनीहरु कसरी पुगे त ? विचारणीय सवाल हो । पल्टुरामहरुको मुख्य समस्या भनेको कि त उदारवादी धारमा सोच निर्माण गरेर कि माक्र्सवादी धारमा मत निर्माण गरी लक्ष्यउन्मुख हुने मार्गचित्र बोक्नु हो । यसले अलमलको विशाल परिवेश निर्माण गर्छ र सवालको प्रस्तुतिकरणमा वेतुकको धारणा बनाउँछ । सवालको प्रस्तुतिकरण एकातिर र समस्या अर्कोतिर छुटिएर जानेगरी योजना बनाउनु भनेको पराजयको बिउँ सँगै बोक्नु हो । घटनाक्रमले त्यही देखाउन पुग्यो ।
थरुहट आन्दोलन घोषणा गर्न आतुर हुने अवस्था के छ ? वियोन्ड टीकापुर सोच्न सकिन्छ कि सकिंदैन ? थरुहट आन्दोलनको नेतृत्व दावी गर्नेहरु अहिले पनि गोलचक्करमै फँसेको छ । उनीहरु जे सोच्छन् र जे व्यवहार गर्न चाहन्छन् ती सबै पुरानै रुटीन, आदतभन्दा अरुथोक होइन । झन अब त यहाँ पल्टुरामहरुको बोलबाला चल्दैछ । कुनैवेला आन्दोलन काम छैन भनेर टाउको लुकाउन विभिन्न किसिमका वहानाबाजी गर्नेहरु जब बुझे कि आन्दोलन बेगर अवसरहरुमा पनि पहुँच कमजोर बन्दैछ, त्यसपछि फेरि आन्दोलनको विषयमा मन बनाउन थालेको छ । मानौं थरुहट आन्दोलनको धेय नै अवसरमा पहुँचको लागि हो । अर्थात् थरुहट आन्दोलनको एजेण्डाहरु अहिले नवसम्भ्रान्त थारुहरुको नाङ्गो राजनीतिक अनुवाद भएको छ । यसको अर्थ ती सम्भ्रान्त कहलिने थारुहरु आन्दोलनलाई बलियो बनाउने उपायहरु खोजी गर्दैनन् । तर मालिकहरुको दरबाजाको ढोका उघार्न सकिन्छ कि भनि दाऊ पर्खेर बस्छन् । किन यसरी घटनाक्रम दोहरिने गरेको छ त ? यस विषयमा केही तथ्यहरुउपर विमर्श हुनु अनिवार्य नै भएको छ ।

सैद्धान्तिक पक्षको अभाव
थरुहट आन्दोलनको उठान उनीहरु उपर चलाएको आन्तरिक उपनिवेश र राज्य प्रायोजित विभेदहरुको कारण उत्पन्न समस्याको निराकरणको लागि हो । यसको अर्थ राष्ट्रिय उत्पीडनको सवाल थारुको लागि अहम् सवाल बनेको कारण मुक्तिको लागि आत्मनिर्णयको अधिकार र स्वशासन प्रमुख एजेण्डा बनाएको हो । तर सवालको प्रस्तुतिकरण हेर्दा लाग्छ कि नेतृत्व वैचाारिक तथा सैद्धान्तिक रुपमा पुरै नाङ्गो छ । उनीहरु उपाय खोजी गर्न छाडेर वर्तमान राज्यसँग भिक्षा माग्दैछ । भन्दैछ हामी ‘ग्रीन थरुहट’ मा लामबद्द होऔं । यसको दार्शनिक बुझाई सम्बन्धि न त कुनै स्पष्टता छ न यसको लक्ष्य । तर औसत मतलाई इमोनलाईज गर्न नयाँ शब्दावलीको व्यापार गर्न बजार खोजी गर्ने काममा थरुहट आन्दोलन छान्न पुगेको देख्दा उदेक लाग्छ ।
अर्कोतिर व्यक्तिगत कमीकमजोरी सच्याए थरुहट आन्दोलन लक्ष्य प्राप्त गर्ने मनोविज्ञान पनि पालेका छन् । तर रणनीति र कार्यनीति सम्बन्धि बुझाईमा समस्या छ भन्न सकिराखेको छैन । केन्द्रीकरण र विकेन्द्रीकरण सम्बन्धि समस्या देख्दैनन् । अनि विश्लेषण र संश्लेषण त परको विषय भइहाले । यी सबको हल नखोजी कसरी थरुहट आन्दोलनमा विपरितहरुको एकता सम्भव बनाउन सकिन्छ ? वैचारिक स्पष्टता कायम नहुँदा ढोंगी नेतृत्वको पछि लाग्नुको विकल्प नै के छ र ? पल्टुरामहरु पासो थाप्ने काम त गर्छन, विवेक त बाँकी रहेकाले प्रयोग गर्ने हो, जुन सचेत नागरिक मार्फत मात्र सम्भव छ ।

आर्थिक–भौतिक पक्षको वेवास्ता
थरुहट आन्दोलनमा कार्यक्रमहरु प्रभावकारी बनाउने र जनसमर्थन बढाउने गरी आर्थिक तथा भौतिक पक्षमा जिम्मेवार बन्ने मनसायबाट जहिले पनि पछि हट्नुको अर्थ हुन्छ कि आन्दोलन बीचमै अस्तव्यस्त होस् । किन अहिलेसम्म आफ्नो आफ्नो गोजी खाली गर्दै कुदे नेतृत्वकर्ताहरु, उनीहरु नै जानुन । किन फेरि आर्थिक तथा भौतिक तयारीको लागि योजना निर्माण भएन ? त्यो पनि उनीहरु नै जानुन् । तर आन्दोलनप्रतिको संवेदनशीलता हेर्दा लाग्छ कि “आए आँप गए झटारो” भन्ने उखान चरितार्थ गर्न उनीहरु बाँकीलाई गुमराहमा पार्न खोजेको देखिन्छ । यसको अर्थ हुन्छ कि थारुहरुले प्रश्न गर्न पाउने छैनन् किनकी तिनीहरुले कुनै पनि आन्दोलनमा आर्थिक सहयोग पु¥याएको देखिन्न । प्रश्न गर्न रोक्नु नै आन्दोलनको सत्यता बारे बुझाउन नखोज्नु हो । अर्थात् आन्दोलनमा प्राधिकार कायम गरी राख्नु हो जसले अवसरवादी नेतृत्वलाई फाइदा पुग्छ ।

राजनीतिक तथा कुटनीतिक सम्बन्ध अन्यौल
आन्दोलनको समयमा राजनीतिक तथा कुटनीतिक सम्बन्धले लविङ्गको आधार तयार पार्छ । सडकमा संघर्ष चलिरहँदा उता राजनीतिक तहमा एजेण्डाको मर्म र मुल्यबारे विमर्श चल्छ । दोस्रो आन्दोलनकारीलाई को को मित्रशक्तिहरु हुन् भन्ने बुझाई स्पष्ट हुनुका साथै अगामी दिनमा राज्यद्वारा हुनसक्ने दमनको क्षति कम गर्न सघाउँछ । यस्ता विषयहरुमा विगतका आन्दोलनहरु ध्यान पु¥याउन सकेनन् । लविङ्ग र दवाव जुनसुकै आन्दोलनको काउण्टर मोडेल निर्माणमा ध्यान दिन सके आन्दोलनकारीको वार्गेनिङ्ग क्षमता बढेर जान्छ । त्यसैले होला आन्दोलन चलिरहँदा कुटनीतिक भेटघाट पनि तिब्र्र हुनेगर्दछ र राजनीतिक तयारीको सवलताले त्यसलाई थप टेवा प्रदान गर्छ । थरुहट आन्दोलन यसबारे अझै अन्यौल रहेको कारण आर्जित शक्ति अन्तै गएर सञ्चित हुने र निरासा उत्पन्न हुने गरेको छ । शासक सम्भ्रातन्तको किट्टा थप बलियो भएर चर्को शोषण गर्न पुगेको महसुस सबैले गरेकै छन् ।

संगठनात्मक सिद्धान्तको अभाव
थरुहट आन्दोलन घोषणा हुँदैगर्दा संगठनात्मक सिद्धान्त भुलेको प्रतित हुन्छ । यदि सचेत धक्काको रुपमा आन्दोलन अगाडि बढाउने हो भने संगठनको स्वरुप कस्तो हुने ? त्यसैगरी पपुलिष्ट आन्दोलनको रुपमा थरुहट आन्दोलन अगाडि बढाउँदा संगठनको स्वरुप कस्तो हुने ? यी सवालहरुको जवाफ कहिल्यै खोजी गरिएन । थारु कल्याणकारिणी सभा कहाँसम्म आन्दोलनको नेतृत्व लिने हो ? थरुहट संयुक्त संघर्ष समितिको सीमा के हुन ? अथवा संयुक्त थारु राष्ट्रिय मोर्चा आन्दोलनलाई कसरी बुझेको छ त ? यी सबैको आफ्नो आफ्नो सीमा छन् । त्यस उप्रान्त संगठन फरक स्वरुपको चाहिने होला तर पहिला तिनीहरुको सीमा सम्बन्धमा त जानकारी पाउनुपर्ने हो । सरसर्ति हेर्दा थारु कल्याणकारिणी सभाको आन्तरिक शासनको स्पष्ट विधिको आभाव छ जसले अविश्वासलाई बढावा दिन्छ । थरुहट संयुक्त संघर्ष समिति अस्थायी मञ्च भएकोले रयाङ्क एण्ड फाइलको आभाव छ र कसैले कसैलाई नेतृत्व मान्न हिच्चकिचाउने गर्छ । संयुक्त थारु राष्ट्रिय मोर्चा सुधारिएको एक स्पष्ट लक्ष्य त तय गरे तर नेतृत्व जन्माउन नसक्दा पङ्गु देखिन्छ । भोली आशा जगाउन प्रयत्न गरे थरुहट आन्दोलनको नयाँ गियर लाग्ने सम्भावना रहन्छ ।

अन्तमा, पल्टुरामहरुले बुझ्नुपर्छ कि नयाँ संविधान जारी पश्चात ‘पाराडाइम’ बदलिएको छ । वर्तमान अवस्थामा विमर्शको सत्य कहिं अर्कै निर्माण हुन पुगेको कारण यसरी पासो थापेर बस्नुको औचित्य रहेन । सक्छौ भने घोषणापत्र जारी गर । त्यही घोषणापत्र कार्यान्वयनमा संगठन केन्द्रित गर र आउने चुनौतीहरु सामना गर्न आँट गर । होइन आँट पुगेन भने केही बुँदाको मागपत्र बोकी मालिकहरुको ढोका चहार्दै दगुर्ने नियति छँदैछ । अब पनि मागपत्रमा मालिकको जवाफ तबसम्म सकारात्मक रहनेछ जबसम्म मालिक संकटको अनुभूति गर्ने छैन । तर जुन दिन उनीहरु संकटको आभाष पाउँछ, फेरि षडयन्त्र गर्छ र खेलमा आमने सामने हुनेछन् । उपरोक्त तथ्यहरुको आधारमा भन्न सकिन्छ कि सम्भ्रान्तहरु अवसरका लागि किस्ताबन्दीमा सम्झौता गर्दै बाँकीलाई ‘सक्छौ भने अगाडि जाऊ होइन भने चुप लाग’ भन्नु पर्ने दिन आउनेछ । अहिलेसम्म भएको घटनाक्रमले यही देखाएको छ ।

तपाईको प्रतिक्रिया