थारु संस्कृतिः हस्तान्तरणमा चुनौति !

संस्कृति विश्लेषण

लक्की चौधरी

संस्कृति कुनै समाजको गहिराईसम्म व्याप्त गुणहरुका समग्र रुपको नाम हो । जुन ती समाजको सोच्ने, विचार गर्ने, खाने लाउने, बोल्ने, नृत्य गायन, साहित्य कला, आदिमा परिलक्षित हुन्छ (स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडिया) ।

संस्कृति अर्थात् उत्तम या सुध्रेको स्थिति । संस्कारजन्य संस्कृतिकै कारण मनुष्य अन्य प्राणीभन्दा उन्नत र चेतनशील सावित भएको छ । कुनै देश, समाजको संस्कृतिले सो देश वा समाजको सबै मानसिक निधिलाई सूचित गर्छ । संस्कृति रातारात बन्नेचिज होइन, न त कुनै व्यक्तिको एकल प्रयास र योगदानले यो निर्मित हुन्छ । संस्कृतिलाई पैसाले खरिद पनि गर्न सकिदैन । संस्कृति बन्न त कैयौं शताब्दी पार गर्नुपर्छ । मानवको सामुहिक प्रयास र योगदानले संस्कृतिको विकास हुन्छ ।

मानिसले विभिन्न समयमा विभिन्न स्थानमा जीवन व्यतित गर्नेक्रममा विशेष प्रकारका सामाजिक वातावरण, प्रथाजन्य संस्कारहरु, धर्म, दर्शन लीपि, भाषा एवं कलाको विकास गरेर विशिष्ट संस्कृतिको विकास गरेको छ । त्यही संस्कृतिअनुसार मानिसको जीवन भोगाई चल्ने गर्छ । संस्कृति प्रकृतिप्रदत्त पनि हुँदैन, यो त मानव निर्मित हुन्छ । यसैको माध्यमबाट सामाजिक व्यवहारको विशिष्टताहरु एक पींढीबाट अर्को पींढीमा हस्तान्तरण हुँदै जान्छन् ।

संस्कृति प्रकृतिप्रदत्त पनि हुँदैन, यो त मानव निर्मित हुन्छ । यसैको माध्यमबाट सामाजिक व्यवहारको विशिष्टताहरु एक पींढीबाट अर्को पींढीमा हस्तान्तरण हुँदै जान्छन् ।

संस्कृति समृद्ध भएमा त्यो प्रकृतिजन्य हुनजान्छ । यदि विकृत भएमा त्यो समाजका लागि विकृति सावित हुन्छ । संस्कृतिको अर्थ समाजलाई सही पथमा उन्मुख गराउनु हो, सुसंस्कारजन्य परम्पराको विकास गर्नु हो । संस्कृतिलाई अंग्रेजीमा ‘कल्चर’ भनिन्छ । लेटिन भाषाको ‘कल्ट’ या ‘कल्टस्’ बाट यो आएको हो । यसको अर्थ विकसित, परिस्कृत गर्नु । कुनै चिजवस्तुलाई संस्कारित, अर्थपूर्ण बनाउनु हो ।
मानिसको सबै उपलब्धी उसको संस्कृतिसँग जोडिएको हुन्छ । कला, संगीत, साहित्य, वास्तुविज्ञान, शिल्पकला, दर्शन, धर्म आदि सबै संस्कृतिका प्रकट पक्ष हुन् । तथापि संस्कृतिमा रीतिरिवाज, परम्परा, पर्व, जिउने तरिका, मानव जीवनका विविध पक्षमा मानिसको आफ्नो दृष्टिकोण पनि कायम रहन्छ । समाज वैज्ञानिकहरुमा एउटा सामान्य सहमति के छ भने मानिसले प्राप्त गर्ने सबै आन्तरिक र बाह्य व्यवहार संस्कृतिमा समाहित हुन्छन् । मूलतः संस्कृति हाम्रो जिउने र सोच्ने विशिष्ट तौर तरिका हो । हाम्रो साहित्य, धार्मिक कार्य, मनोरञ्जन सबै ठाउँमा संस्कृति जोडिएको हुन्छ ।

थारु संस्कृतिः
नेपाली सांस्कृतिक विरासत कैयौं शताब्दीको अन्तरालमा विकसित भएको हो । थारु समुदाय तराईको मूल आदिबासी भएकाले थारु संस्कृतिको विरासत पनि त्यतिकै बलियो छ । थारु समुदाय सांस्कृतिकरुपले धनी समुदाय हो । यो समुदायको आफ्नै शाश्वत संस्कार, संस्कृति छ । प्राचीन कालदेखि थारु समुदायले आफ्नो संस्कार, संस्कृतिको संरक्षण र व्यवहारतः परिपालना गर्दैआएका छन् । सन्तान दरसन्तान संस्कृतिको हस्तान्तरण गर्दैआएका छन् ।

संस्कृति र संस्कारजन्य परम्परालाई युवापुस्तामा हस्तान्तरण गर्न नसक्ने हो भने सो समुदायको पहिचानमा समेत संकट आउने निश्चित छ ।

थारु समाज संयुक्त परिवारमा बस्न रुचाउँछ । सामुहिकतामै रमाउँछ । निर्णय गर्ने तौरतरिका पनि सामुहिक रुपले गर्छ । समाजमा घुलमिल भएर बस्न रुचाउने यो समुदायले संस्कृतिको परिपालना पनि सोहीअनुरुप गर्दैआएको छ । थारु समुदाय धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपले भिन्न छ । अन्य समुदायकोजस्तो थारु समुदायले हरेक दिन पूजापाठमा विश्वास गर्दैन । आफ्नो प्रथा परम्परा, पर्व चाडमा मात्रै घरदेवतालाई पूजा गर्ने गर्छ । गाउँभरिका देवताहरु सामुहिकरुपमा देउथानमा बस्ने हुनाले गाउँभरिकाले सामुहिकरुपमै पूजापाठ गर्ने गर्छन् । पूजाकालागि घरमुली आफै या घरगुरुवा, गाउँगुरुवा राख्ने गर्छ ।

हस्तान्तरण चुनौतिः
थारु समुदायको आफ्नै भाषा, साहित्य, संस्कृति, रहनसहन र संस्कारजन्य प्रथा परम्परा छ । त्यही संस्कार र संस्कृतिले नै सो समुदायको फरक पहिचान रहँदै आएको छ । थारु समुदाय नेपालको प्राचीन समुदायमध्ये एक हो । सो समुदायको इतिहास जति प्राचीन छ, संस्कृति पनि त्यति नै प्राचीन र परिस्कृत छ । थारु समुदायका परम्परागत ज्ञान, आदर्श विशिष्टता कायम रहेको संस्कृतिलाई जोगाइ राख्ने, संरक्षण गर्ने चुनौति भने युवापुस्तामा आइलागेको छ । विश्व अहिले तिव्ररुपले सूचना प्रविधिको विकास गरिरहेको छ । त्यसले विश्व संस्कृतिलाई नै एकअर्कासँग नजिक गरिदिएको छ । एक देशको संस्कृति अर्को देशमा नक्कल गर्नु, अनुशरण गर्नु सामान्यजस्तै भइसकेको छ । सो प्रबृत्तिप्रति थारु युवापुस्ता पनि लहसिएको देखिन्छ । पश्चिमा संस्कृतिको बढ्दो फैलावटले आदिबासीका परम्परागत ज्ञान र सांस्कृतिक शैलीमा विस्तारै विचलन आउन थालेको छ ।

थारु समुदायको संस्कार, प्रथाजनित परम्परा र सांस्कृतिक ज्ञान विस्तारै पुरानो व्यक्तिमा सीमित हुन थालेको छ । अहिलेसम्म थारु संस्कृतिको विरासत त्यही पाका उमेर समुहकाले धानेको प्रतित हुन्छ । गीतबाँस होस् या सांस्कृतिक अन्य ज्ञान र सीप पुराना पाका व्यक्तिमा नै सीमित हुन थालेको छ । थारु संस्कृतिको संरक्षणमा पुरुषकोभन्दा महिलाको योगदान अझ बढी देखिन्छ । यद्यपि सो समुदायको सांस्कृतिक ज्ञान र संस्कारलाई युवा पुस्तामा हस्तान्तरणको चुनौति थपिदैगएको छ । युवापुस्ताहरु अध्ययनको सिलसिलामा, काम र रोजगारको सिलसिलामा गाउँ, जिल्ला बाहिर, देश बाहिर जानेक्रम बढ्दै गएपछि थारु संस्कार, संस्कृति र परम्परागत ज्ञान गाउँघरमा बसोबास गर्ने उमेर पुगेका पाका समुहमा सीमित हुन थालेको छ । थारु अभिभावकले सांस्कृतिक ज्ञानलाई आफ्ना सन्तान र युवामा हस्तान्तरण गर्न सकिरहेका छैनन् ।

युवा पुस्तालाई थारु सांस्कृतिक ज्ञान र त्यसको महत्वका बारेमा सचेत गराउन सो समुदाय लाग्नुपर्ने देखिन्छ । जवसम्म हाम्रा गीतबाँस, चालचलन र संस्कार संस्कृति कायम रहन्छ, तवसम्म हाम्रा पहिचान कायम रहन्छ । थारु संस्कृति खतराको अवस्थाबाट गुज्रीरहेको छ । संस्कृति र संस्कारजन्य परम्परालाई युवापुस्तामा हस्तान्तरण गर्न नसक्ने हो भने सो समुदायको पहिचानमा समेत संकट आउने निश्चित छ । संस्कृतिको संरक्षण हरेकले आफ्नो घरबाटै शुरु गर्नुपर्ने हुन्छ । तर एक उमेर समुहका सदस्य बाहेक अर्का उमेर समूहका सदस्यहरु रोजगारीका लागि धमाधम विदेशिन थालेपछि सांस्कृतिक महत्वबारे सो समुदायका अगुवाहरुले युवापुस्तालाई सचेत गराउन सकिरहेका छैनन् ।

युवापुस्ताले संस्कृतिबारे चासो नलिने हो भने थारु समुदायको संस्कृति ढिलोचाँडो मर्ने निश्चितप्रायः देखिन्छ । संस्कृति जोगाउने र पहिचान कायम राख्ने विषयमा थारु समुदायका शिक्षित वर्गले समेत कम चासो दिएको देखिन्छ । अहिलेको युग प्रतिस्पर्धाको युग हो । त्यही प्रतिस्पर्धामा आफूलाई अव्वल सावित गर्न थारु समुदायका शिक्षित वर्गहरु जन्मिदै बालबच्चालाई अंग्रेजी सिकाउने, अंग्रेजी माध्यमका विद्यालयमा भर्ना गर्ने गरेका छन् । अरुसँगको प्रतिस्पर्धा गर्ने नाममा आफ्नो मातृभाषा शिक्षालाई चटक्कै विर्सेको देखिन्छ । थारु समुदायले आफ्ना सन्तानलाई मातृभाषा नसिकाउने, आफ्नो संस्कार तथा प्रथाजन्य परम्पराको ज्ञान नदिने हो भने संस्कृतिबारेमा ‘जेनेरेशन ग्याप’ हुने सम्भावना प्रबल रहन्छ ।

संस्कृतिको संरक्षण गर्ने र थारु संस्कृतिको हस्तान्तरणको प्रयास हरेकले आफ्नै घरबाट, आफैबाट शुरुवात गर्नुपर्छ । एक पटक गुमेको संस्कार संस्कृतिलाई पुनः प्राप्त गर्न सम्भव हुँदैन ।

अरुसँगको प्रतिस्पर्धा गर्ने बहानामा आफ्नै संस्कृति र परम्परा विर्सनु भनेको आफ्नो पहिचान गुमाउनु हो । पहिचान गुमाउनु भनेको आफूलाई भुल्नु हो । संस्कृतिको संरक्षण गर्ने र थारु संस्कृतिको हस्तान्तरणको प्रयास हरेकले आफ्नै घरबाट, आफैबाट शुरुवात गर्नुपर्छ । एक पटक गुमेको संस्कार संस्कृतिलाई पुनः प्राप्त गर्न सम्भव हुँदैन ।

थारु समुदायमा संस्कार संस्कृतिको नाममा केही विकृत रुप पनि छन् । जसलाई समयमा ‘करेक्सन’ गर्न नसक्दा सो समुदायको संस्कृतिमा धब्बा लाग्ने गरेको छ । थारु समुदायलाई राज्यले मतवाली समुदाय अन्तर्गत राखेको छ । जुन समुदायको देवताले पनि पेयपदार्थ स्वीकार गर्छन् भन्ने विश्वास गरिन्छ । घरमै बनाउने रक्सीले देवता पूज्ने र पाहुना अतिथिहरुको स्वागत सत्कार पनि पेय पदार्थले गर्ने प्रचलन सो समुदायमा छ । त्यसले थारु संस्कृतिलाई नै नराम्ररी प्रभावित गरिरहेको छ । पूजापाठको नाममा, अतिथि सत्कारको नाममा, चाडपर्वमा रामरमाइलो गर्ने बहानामा अत्यधिक मादक पदार्थको सेवनले एकातिर थारु संस्कृतिमा विचलन ल्याउने गरेको छ भने अर्कोतिर सो समुदायको आर्थिक अवस्थालाई धरासयी बनाइरहेको छ ।

थारु समुदायमा रहेको सांस्कृतिक पक्षलाई विकाउको रुपमा, व्यवसायिकरण गर्न नसक्दा त्यसबाट आम्दानी भएन । आम्दानीको स्रोत बनाउन नसक्दा संस्कृति र जीवनशैलीमा नै धरमरको अवस्था आइलाग्यो । थारु लोकसाहित्य तथा संस्कृतिको भविष्य चुनौतिपूर्ण छ । चुनौतिलाई पार गर्दै संस्कृतिको संरक्षण गर्नु आजको युवाको दायित्व हो । युवाले थारु संस्कृतिलाई व्यावसायीकरण गर्न सक्ने हो भने एकातिर थारु संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर जीवन निर्वाहको उपयुक्त माध्यम पनि बन्छ ।

तपाईको प्रतिक्रिया