कैलालीको जोशीपुरमा ३१ जना थारु सिकलसेलको रोगी भेटिए


जोशीपुर (कैलाली), वैशाख १५ गते । कैलालीको जोशीपुर गाउँपालिकाले सिकल सेल एनिमिया रोग पत्ता लगाउन थारु समुदायमा रगत परीक्षण गर्ने कार्य गरेको छ । परीक्षणबाट ३१ जना सिकलसेल एनिमियाका विरामी फेला परेका छन् ।

गाउँपालिकाले आफ्नै खर्चमा शंकास्पद व्यक्तिहरुको रगत परीक्षण थालेको हो । रगत परीक्षण गर्दा उक्त गाउँपालिकामा ३१ जना सिकल सेल एनिमियाको नयाँ बिरामी फेला परेका छन् ।

दुई हजार ७ सय ५७ जनाको रगत परीक्षण गर्दा ३१ जनामा सिकल सेल रहेको पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो । जसमा २० महिला र ११ जना पुरुष छन् । ‘स्क्रिनिङ टेस्ट’ गर्दा पाँच सय ४३ जना शंकास्पद देखिएका थिए । ‘इलेक्ट्रो फोरेसिस’ गर्दा ३१ जनामा सिकल सेल रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।

‘शंकास्पदहरुको इलेक्ट्रो फोरेसिस धनगढीस्थित धनगढी डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको थियो । सिकल सेल पुष्टि भएकाहरुको निःशुल्क उपचारका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।

यसैगरी, शंकास्पद मध्ये २० प्रतिशत व्यक्ति सिकल सेलको बाहक रहेको पुष्टि भएको छ । बाहक व्यक्ति सिकल सेलको बिरामी होइनन् । तर, उनीहरुले जिनमार्फत आफ्ना सन्तानमा सिकल सेल रोग सार्न सक्छन् । बाहक पुरुष र बाहक महिलाबीच विवाह भएमा उनीहरुले जन्माउने सन्तान सिकल सेल एनिमियाको बिरामी हुने चिकित्सकले बताउने गरेका छन् ।

जोशीपुरमा थारु समुदायको जनसंख्या बढी छ । जम्मा जनसंख्याको करिब ८० प्रतिशत थारु समुदायको बसोबास रहेको जोशीपुरमा शंकास्पद थोरै व्यक्तिको मात्रै रगत जाँच भएको स्वास्थ्य शाखा संयोजक चौधरीले बताउनुभयो ।

जोशीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा सिकल सेल एनिमिया पत्ता लगाउन रगत परीक्षणका लागि सुरुमा ७ लाख रुपियाँ बजेट छुट्टयाएको थियो । तर, उक्त रकम अपुग भएपछि थप गरेर १८ लाख ३४ हजार रुपियाँ खर्च गरिएको जनाइएको छ । गाउँपालिकाले धनगढीबाट प्राविधिक टोली लगेर पाँच दिनसम्म रगत परीक्षण शिविर सञ्चालन गरेको थियो ।

सिकल सेल एनिमियाको विरामी पत्ता लगाउने प्रथम चरण रगत परीक्षण हो । रगत परीक्षणका लागि आगामी वर्ष अलि बढी बजेट विनियोजन गर्ने र धेरैभन्दा धेरै व्यक्तिको रगत जाँच गर्ने गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताउनुभयो । पश्चिम तराईमा बसोबास गर्दै आएको थारु समुदायमा सिकल सेल एनिमियाको समस्या बढ्दो अवस्थामा देखिएको छ ।

कैलालीको सेती अञ्चल अस्पतालमामात्रै झन्डै ६०० जना सिकल सेल एनिमियाको बिरामी दर्ता भएका छन् । यो रोगका बिरामीलाई नेपाल सरकारले एक लाख रुपैयाँ बराबरको उपचार सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया