थारु आयोगले दायरा फराकिलो गरेर थारुका लागि काम गर्नुपर्ने सुझाव


काठमाडौं, वैशाख १७ गते । थारु समुदायका अगुवाहरुले थारु आयोगले आफ्नो दायरा फराकिलो गरेर थारुको समग्र विषयको सुक्ष्म अध्ययन गरी त्यसको संरक्षण तथा प्रवद्र्धनमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।

थारु आयोगले मंगलबार यहाँ आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा थारु अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । आयोगको आफ्नो छुट्टै ऐन भएपनि त्यसको दायरा फराकिलो गरेर समग्र क्षेत्रमा काम गर्न सुझाव उहाँहरुले दिनुभयो । थारु आयोग संविधानको धारा २६३ अनुसार गठन भएपनि आयोगका अध्यक्षमा वर्दियाका विष्णुप्रसाद चौधरी २०७५ चैत ७ गते नियुक्त हुनुभएको थियो ।

आयोगले अझै पूर्णता नपाएको भएपनि अन्तरक्रियात्मक कार्यक्रम शुरुगरेको छ । यसलगत्तै आयोगले वैशाख २४ गते वर्दिया, २५ गते कैलालीको धनगढी र सोपछि सुर्खेतमा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरिएको आयोगका अध्यक्ष चौधरीले बताउनुभयो ।

आयोगले विस्तारै थारु बहुल क्षेत्र सबैमा अन्तरक्रिया कार्यक्रम गरी सुझाव संकलन गर्ने कार्ययोजना बनिरहेको आयोगका सचिव आनन्दराज रेग्मीले बताउनुभयो ।

कार्यक्रममा थारु अगुवाहरुले आयोगलाई चाँडै पूर्णता दिई जनशक्ति विस्तार गरी काम गर्न सुझाव दिनुभयो । आयोगमा ३१ जनाको दरवन्दी रहेपनि अहिलेसम्म १३ जना कर्मचारी मात्र रहेको आयोगका चारजना सदस्यको नियुक्ती नभएको अवस्थामा काम गर्न कठिन भएको आयोगका पदाधिकारीहरुले बताउनुभयो ।

आयोगले थारुको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, थारु हकहित तथा युवाहरुको सशक्तिकरण, सीप अभिबृद्धिको क्षेत्रमा काम गर्ने ऐनमा व्यवस्था रहेको आयोगका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आफुहरु छ वर्षे कार्यकालका लागि आयोगमा नियुक्त भएको भएपनि आयोगको पूर्णता ढिलाईले कामले चुस्तता लिन नसकेको उहाँले बताउनुभयो ।

थारु अगुवाहरुको राय सुझाव र सल्लाहअनुसार नै आयोगले काम गर्ने र सरकारलाई हरेक वर्ष वार्षिक प्रतिवेदन बुझाउने दायित्व आयोगको रहेको सचिव रेग्मीले बताउनुभयो । थारु समुदायको हकहितका लागि प्रतिवेदन बुझाउने र कार्यान्वयनका लागि सरकारलाई सफारिस गर्ने म्याण्डेट आयोगलाई रहेको उहाँले बताउनुभयो ।

तर थारु अगुवाहरुले थारु समुदायको माग मुद्दाको सुझाव लिएर सरकारलाई सिफारिस गरेर चुपचाप बस्नुभन्दा त्यसको कार्यान्वयनका लागि दवाव दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा थारु अगुवाहरु भुलाई चौधरी, लक्की चौधरी, नेमसिंह थारु, चन्द्रप्रसाद चौधरी, कानूनलाल चौधरी, सीताराम चौधरी, शत्रुघन चौधरी, गीता चौधरी, प्रतिमा चौधरी, सि.एन. थारु, शैलेन्द्र चौधरी, देवनारायण चौधरी, एन्जल कुश्मी, वालकृष्ण चौधरी, विद्यानन्द लेखी, रमेश दहित, कृष्ण सर्वहारी, सीयाराम चौधरी, रामचन्द्र कुश्मी लगायतले सुझावसहितको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया