काठमाडौं, वैशाख १९ गते । नेपालमा पहिलो पटक कुखुराबाट मानिसमा सरेको बर्ड फ्लु भाइरस रोगबाट काभ्रेका २१ वर्षिय युवकको मृत्यु भएको छ । रागबाट युवकको मृत्यु भएपछि सो बारे चिकित्सकहरुले सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुघाखोकीबाट पीडित ती युवक अस्पताल भर्ना भएपछि भर्ना भएको पाँच दिनपछि गत चैत १५ गते उनको निधन भएको थियो । मृत्यु हुने युवकको परिचय गोप्य राखिएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनको र्याल परीक्षणका लागि पठाइएपछि वैशाख १७ गते प्राप्त नतिजा अनुसार इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण देखिएको थियो ।
यो भाइरस पहिलो पटक स्न १९९६ मा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनको अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा सो भाइरस देखिएको छ । त्यसमध्ये आधासंख्या ४५४ जनाको मृत्यु भएको तथ्यांक छ ।
कसरी सर्छ
खुला अनि ताजा मासु बजारलाई जनसमुदायमा एच५एन१ संक्रमणको मुखय स्रोत मानिन्छ । सो भाइरस तातो वातावरणमा वढी संवेदनशील मानिन्छ । कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्नेगरी नपाएको मासुबाट भाइरस सर्ने अधिकांश सम्भावना रहन्छ ।
कुखुराको मासो नपकाई काँचो खाँदा भाइरस सर्ने खतरा एकदम बढी हुन्छ । काँचो मासु काट्दा पनि भाइरस सर्छ । मासु काट्दा हातमा पंजा लगाउन आवश्यक हुन्छ । हातमा पन्जा र मुखमा मास्क, एप्रोन वा रुमाल लगाएर मासुलाई टुक्रा गर्नुपर्छ । मासु टुक्रा गरिेसकपछि प्रयोग गरिएका भाँडाकुँडा, औजार, अनाचोलाई राम्रोसित सावुन पानीले निर्मलीकरण गर्नुपर्छ ।
त्यसैगरी भाइरस कुखुराले पारेको अण्डामा पनि हुन्छ । अण्डाको भित्री भाग सेतो तथा पहेंलो भागमा पनि भाइरस अवस्थित हुन्छ । अण्डा खानुभन्दा अगाडि राम्रोसँग उमालेर खानुपर्छ । काँचो अण्डा खाँदा पनि भाइरस सर्छ ।