आगामी आर्थिक वर्षको बजेट बुधबार ४ बजे संसदमा प्रस्तुत हुने


काठमाडौं, जेठ १३ गते । आर्थिक वर्ष २०७६ र ७७ को बजेट जेठ १५ गते बुधबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराउनुभयो ।

त्यसका लागि प्रतिनिधि सभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले गर्नुभयो । संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

कर्मचारीको तलब बृद्धि हुने
सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने गृहकार्य गरेको छ । आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा न्युनतम १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धिको प्रस्ताव गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

गत वर्षहरुमा जस्तो सबै कर्मचारीहरुको समानुपातिक रुपमा तलब यसपाली बढ्ने छैन । तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको भए पनि उपल्ला कर्मचारीको तलब १५ प्रतिशतसम्म बढ्नसक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया