थारु युवाले नेतृत्वकर्तालाई भने ‘थारु एकता कायम गर’


Dang

चखौरा दाङ, मंसिर १९ गते । दाङ्को चखौरामा शुक्रबारदेखि जारी थारु राष्ट्रिय युवा भेलामा थारु युवाहरुले थारुको एकताको आवाज उठाएका छन् । आइतबार समापन हुने भेलाको दोस्रो दिन शनिबार धारणा राख्ने अधिकांश युवाहरुले आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

उपत्यकासहित चित्तवन पश्चिमबाट करिब एकसयको हाराहारीमा युवाहरुको भेलामा सहभागीता रहेको आयोजक संस्था थारु एराउण्ड दि वल्र्डका अध्यक्ष महावीर चौधरीले जानकारी दिनुभयो । भेलाको पहिलोदिन शुक्रबार उद्घाटनसत्रमै सीमित भएको थियो । भेलामा चारजना सांसदहरुले राष्ट्रिय राजनीति, थारुको आन्दोलन र उपलब्धीको विषयमा धारणा राख्नुभएको थियो ।

केन्द्रबाट भेलामा सहभागी हुन जानुभएका सांसदहरु गोपाल दहित, गंगा चौधरी, योगेन्द्र चौधरी र सन्तराम थारुले राष्ट्रिय राजनीति र सांसदहरुले संविधानसभा र व्यवस्थापिका संसदमा थारुको अधिकारका लागि खेलेको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो । त्यस्तै, पूर्व सभासद पासाङ शेर्पाले पनि आदिबासी जनजातिको आन्दोलन र उपलब्धीको विषयमा भेलामा धारणा राख्नुभएको सहभागी थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

शनिबारको भेला उपलब्धीपूर्ण भएको आयोजक संस्थाका अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । दाङसहित् पश्चिमका आठ जिल्लाबाट सहभागी युवाहरुले शनिकारको भेलामा थारु आन्दोलन र थरुहट थारुवान संघर्ष समितिले खेलेको भूमिकाको विषयमा जिज्ञासा राखेका   थिए । भेलामा सप्तरीका चन्द्रप्रसाद चौधरी, कैलालीका इन्दू चौधरी, वर्दियाका सीताराम चौधरी लगायतले थारुको आन्दोलन, नेतृत्वकर्ताको विषयमा प्रश्न उठाउनुभएको थियो ।

सहभागीबाट उठेको प्रश्नको जवाफ सांसदहरु गोपाल दहित, योगेन्द्र चौधरी र सन्तराम थारुले दिनुभएको थियो । भेलामा युवाहरुले आन्दोलनको अग्रपंक्तिमा युवाहरु रहने हुनाले जिल्लादेखि केन्द्रसम्म युवालाई सहभागी गराउन माग गर्नुभएको भेलामा सहभागी चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

भेलामा कैलाली, वर्दिया, बाँके, दाङ, कपिलबस्तु, रुपन्देही, नवलपरासी, चित्तवन, सप्तरीसहित उपत्यकाबाट थारु युवा विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले बताएको छ । भेलामा करिब पन्ध्रजना महिला सहभागी छन् ।

आइतबार दाङ् घोषणापत्र सार्वजनिक गरी भेला समापन हुने आयोजकले बताएको छ । विभिन्न जिल्लाबाट सहभागीहरुलाई घर फिर्ता हुनेगरी दिउँसो १ बजेसम्म कार्यक्रम समापन गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

पूर्वमा मधेस बन्दका कारण पूर्वी जिल्लाबाट युवाहरुको सहभागिता नभएकाले अर्को भेला चित्तवन पूर्वको जिल्लालाई समेटेर पूर्वमा गर्ने आयोजकले बताएको छ । थारुको आन्दोलनलाई सशक्त बनाउन थारु एकताका लागि भेला फलदायी रहेको भन्दै भेलामा सहभागीहरुले थारु अधिकारको विषयमा सबै थारु एक भएर अगाडि बढ्न सन्देश दिएका छन् ।

भेलाका लागि पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मको थारुलाई आमन्त्रण गरिएको भएपनि विभिन्न प्राविधिक कठिनाईले भेलामा सहभागिता हुन नसकेको आयोजकले बताएको छ । यसअघि भेलाकालागि आफूसँग सहकार्य र छलफल नभएको भन्दै थारु कल्याणकारिणीसभाका राजकुमार लेखीले भेलामा थाकस सहभागी नहुने बताउनुभएको थियो ।

आयोजकले भेलाका लागि सबै थारु सांसदहरुलाई निमन्त्रणा गरेको भएपनि भेलामा चारजना थारु सांसद मात्र सहभागी हुनुभयो । दाङ्मा भेला भइरहेका बेला थारु कल्यणकारिणीसभा उपत्यका समितिले शनिबार काठमाडौंमा बैठक ओजना गरी माघी महोत्सवको विषयमा छलफल गरेको छ ।

त्यस्तै, थाकसका सचिवालय सदस्य राजकुमार लेखीले सभा मातहतको भातृ संस्था थारु महिला सभा तथा थारु युवाका प्रतिनिधिहरुको बैठक बोलाई आन्दोलनको समिक्षा तथा आन्दोलनबारे सुझाव लिनुभएको छ । थाकसको केन्द्रीय महिला सभाको भेला पुस ११ गते सिराहामा हुने निर्णय पनि थाकसले गरेको छ ।

तपाईको प्रतिक्रिया